प्याब्सनद्धारा सिन्धुपाल्चोकमा शैक्षिक सामग्री हस्तान्तरण

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)ले सिन्धुपाल्चोकमा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । प्याब्सनले बाढी प्रभावित सिन्धुपाल्चोकका ३१८ जना विद्यार्थीलाई अनलाइन शिक्षा निरन्तरताका लागि डाटासहितको सिमकार्ड, स्कुल ब्याग, कापी, पेन्सिल लगायतका सामग्री हस्तान्तरण गरेको प्याब्सन केन्द्रीय सल्लाहकार एवं क्विक रेन्पोन्स टिमका संयोजक आशीष श्रेष्ठले खुल्लापाटीलाई जानकारी दिए ।

‘विपद्का कारण क्षतिग्रस्त निजी विद्यालयका साना बालबालिकालाई उनीहरुको अध्ययन नरोकियोस् भनेर हामीले शैक्षिक सामग्री हस्तान्तरण गरेका हौँ । हामीले शिक्षकलाई पनि जे जति सकिन्छ तत्कालै नगद पनि सहयोग ग-यौँ । सबैले पढन पाऊन भन्ने हाम्रो सोच र अभियान हो ।’ उनले स्पष्ट पारे ।

सिन्धुपाल्चोकमा बाढीले विद्यालय तहसनहस बनाएपछि प्याब्सनका श्रेष्ठ सहित केन्द्रीय सह कोषाध्यक्ष गणेशबाबु पोखरेल, वागमती प्रदेश अध्यक्ष थकिन कुमार गुरुङ, केन्द्रीय सदस्य कर्मा वाडेल लामा, काठमाडौँ प्याब्सन सचिव प्रह्लाद खनाल, प्याब्सन महालक्ष्मी नगर अध्यक्ष कैलाश मल्ल लगायतले शैक्षिक सामग्री वितरणमा पुगेका थिए । कार्यक्रममा प्याब्सन सिन्धुपाल्चोकका पदाधिकारीसहित ७५ अभिभावक र विद्यार्थीहरु सहभागी थिए ।