थुप्तेन दोङाक क्षोलिङ गुम्बा –एक धार्मिक पर्यटकीय केन्द्र


–हिमाल गिरी

बौद्ध धर्मका प्रमुख धर्मगुरु शरण्यरत्न ठुल्सीक रिन्पोछे (ङवाङ छोकी लोटो) ञिङ्मापा सम्प्रदायको ३१ औं निर्माणकाय (अवतार) को रुपमा वि.स. १९८०÷०६÷२५ गते तिब्बतको यम्डोक ल्हो ताक्लुङ भन्ने ठाउँमा जन्मिएका थिए । क्याप्जे (शरण्यरत्न)ठुल्सीक रिन्पोछेको पिता लिच्छवी वंशका तेन्जिन छोदर र माता ज्याम्याङ वाङ्मो चाङ्पा न्यारेप्पा हुन् । तिब्बती बौद्ध धर्मगुरु ओनरेपाले साधना गरेको गुफाभित्र ठुल्सीक रिन्पोछेको जन्म भएको थियो । क्याप्जे ठुल्सीक रिन्पोछे चार वर्षको हुँदा जाटुल रिन्पोछेको निमन्त्रणामा तिब्बत स्थित ला तो शेल्कार जिल्लाको जारोङफु भन्ने स्थानमा पुगी जाटुल रिन्पोछेलाई भेटेर पूर्वजन्म वारे भन्न थालिसकेपछी ठुल्सीक दोङालिङपाका शिष्य जाटुल रिन्पोछेले आफ्नै गुरुको अवतार हो भन्ने पहिचान गरे । ठुल्सीक रिन्पोछे चार वर्षको हुदाँ नै जाटुल रिम्पोछे द्वारा उनलाई अवतारीको रुपमा लिई ङवाङ दोङग तेन्जिन पालसाङपो नामाकरण गरियो ।

बाह्र वर्षको उमेरमा क्याप्जे ठुल्सीक रिन्पोछेलाई धर्म गद्दी आरोहण गराउनुका साथै जाटुल रिन्पोछेवाट प्रतिमोक्ष बोधिसत्व र मन्त्र सम्बन्धी विशेष शिक्षा दिईयो । त्यस पछि लगतै तिब्बत स्थित जारोङ दोङ क्ष्योलिङ गुम्बाको उपाध्याय (खेन्पो) मा नियूक्त गरियो । ञिङमापा सम्प्रदायको शुरुदेखिको अवतारहरुमा १, महावैरोचन २, धर्मबज्र ३, शाक्यमुनी बुद्धको पाश्र्वती आनन्द ४, धर्मराज इन्द्रभुती ५, आर्यदेव ६, महासिद्ध कृष्णचर्या ७, थोन्मीसम्भोट ८, शान्तिगर्भ ९, शान्तरक्षिता १०, महादोभाषी वैरोचना ११, ञ्याक ज्ञानकुमार १२, श्री वज्र १३, शुक्र्षेन शाक्यकार १४, टङोन इश्वर ज्वाला १५, रोङशोभ महापण्डित १६, फम्थिङ अभयकीर्ति १७, विज्ञ विजय ख्यूङ्पो १८, अतिश दिपङ्कर १९, रेछुङ वज्र २०, च्यादुल विर्य ज्वाला २१, आनन्दध्वज २२, आदर्श वज्र २३, सर्वज्ञ लोङछेन विमलप्रभा २४, महासिद्ध कर्मवज्र २५, मंगल मन्जुश्री २६, श्यदेउ अभ्रान्ति आनान्द २७, ज्योनाङ आनान्द गर्भ २८, महानिधिपति अक्षर वज्र २९, गुयाङ लोदेचाल ३०, समन्तभद्र दर्शनविभुक्ती वज्र ३१, निर्माणकाय पर्दछन । सन १९९३ तदनुसार विक्रम संवत २०१६ सालमा तिब्बतको आफ्नै गुम्वा जारोङ दोङग क्षोलिङ बुद्ध विहारमा रहिरहेकै अवस्थामा चिनमा सांस्कृतिक क्रान्ति चलिरहेको वेलामा विक्रम संवत २०१६ को अन्त्यतिर ठुल्सीक रिन्पोछे सोलुखुम्बुको नाङपाला घाँटी पार गरी आफ्ना चेलाहरु सहित थामेको देक्षेन क्षोखोरलिङ गुम्वामा आई दुई वर्ष बसे ।

वि.स. २०१८ सालमा सोलुको चिवाङ गुम्वा क्षाङक्षुप क्षोलिङमा आई पाँच वर्ष बसिसकेपछि फुङमुक्षे र सेङगेफुकमा करिव दुई वर्ष विताए । वि.स. २०२४ सालमा सोलुदुधकुण्ड नगरपालिका वडा नं २ स्थित ठुल्सीक रिन्पोछेले थुप्तेन दोङाक क्षोलिङ गुम्वा आफैले स्थापना गरी धार्मिक शिक्षा दिक्षा दिदै आउने त्र्रmममा ८८ वर्षको उमेरमा मिति २०६८ भाद्र १६ गते विहान ८ वजे काठमाडौंको स्वयम्भू सितापाइला स्थित डाडाँगाउको जरोङ थुप्तेन मिन्ड्रोल दोङाक क्षोलिङ बौद्ध विहारमा उनको देहान्त भएको थियो । हाल ठुल्सिक रिन्पोछेको पार्थिव शरीर सोलुदुधकुण्ड न. पा. वडा नं. २ स्थित थुप्तेन दोङाक क्षोलिङ गुम्बामा सुरक्षित राखिएको छ । ठुल्सिक रिन्पोछेको देहान्त पछि थुप्तेन दोङाक क्षोलिङ गुम्बा समितिले ठुल्सिक रिन्पोछेको निर्माणकाय (अवतार) ३२औँ रिन्पोछेको पहिचानको लागि तेङतेवुचे गुरु, जटुल रिन्पोछे, रब्जेयन रिन्पोछे, साङसाङ रिन्पोछे, खेन्जे याङसी रिन्पोछेलाई अनुरोध गरियो तर वहाँहरुबाट केही पनि निचोड आउन नसकेपछि ती पाँचै जना धर्मगुरुहरुको राय सहित सिक्किम भारतमा बस्ने ञिङमापा सम्प्रदायका वयोवृद्ध गुरु क्याप्जे दोठुस्चेन रिन्पोछेलाई पुन अनुरोध गरियो । अनुरोध गरिएको १ वर्षपछि पहिचान (जोखाना हेरी संकेत प्राप्त गर्ने कार्य) भयो । पहिचान अनुसार निर्माणकाय ३२औँ (अवतारको) रुपमा सोलुखुम्बु जिल्ला माहाकुलुङ गा. पा. वडा नं. १ बस्ने बुवा कर्मा वाङछु शेर्पा र आमा डोमा शेर्पा को कोखवाट मिति २०७१÷१०÷०८ मा जन्मिएका ङवाङ जिग्मे ठिन्ले कुनख्याप हुन् । उनको मुख्य गुम्बा पनि थुप्तेन दोङाक क्षोलिङ गुम्बा नै हो ।


थुप्तेन दोङाक क्षोलिङ गुम्बा आज भन्दा ५१ वर्ष अगाडि निर्माण भएको हो ।यो हालको सोलुखुधकुण्ड न. पा. २ मा पर्दछ । सडक मार्ग समेत पुगिसकेको यो ठाउँमा पुग्न सल्लेरी सदरमुकामबाट सवारी साधन मार्फत करिब १ घन्टा लाग्दछ भने पैदल यात्रा बाट ५ घन्टा जती लाग्दछ । यस ठाउँको दृश्य अत्यन्त मनमोहक रहेको छ । यहाँ धुपको सुगन्धले हाम्रो मन मस्तिष्कलाई नै एक प्रकारको आनन्द दिने गर्दछ । विगतमा यहाँ एक हजार भन्दा बढी चेला र भक्तजनहरु बसोबास गर्दथे तर अहिले घटेर यो सङ्ख्या पाँच सयमा पुगेको छ । नयाँ र पुरानो गरी दुई ओटा ठुला गुम्बाहरु तिब्बती शैलीमा निर्माण गरि स्थापना काल देखि नै बौद्ध शिक्षा सञ्चालन हुँदै आएको छ । यहाँबाट धेरै बौद्ध अनुयायीहरुले उच्च शिक्षा हासिल गरे भने योगीहरुपनि भए । विगतमा ङोन्डो बाट ज्योक्छेन वा माहासन्धि सम्म पढाइ हुने यस गुम्बामा शास्त्रिय र आधुनिक बौद्ध शिक्षा दुवै अध्ययन अध्यापन गराइन्छ । ञिङमापा सम्प्रदायको जिल्लाकै सबै भन्दा ठूलो र प्रमुख मानिने यस गुम्बाको विशेषता भनेको जिल्लाका सम्पूर्ण गुम्बाहरु मध्ये श्रमाणेरिका र भिक्षु यस गुम्बाबाट मात्र उत्पादन गरिन्छ ।


थुप्तेन दोङाक क्षोलिङ गुम्बामा हरेक वर्ष आफ्नै रीति अनुसार पूजा गर्ने गरिन्छ । पूजा तथा धार्मिक, साँस्कृतिक कार्यक्रमहरुमा बुद्ध जयन्ती, हरेक महिनाको दशमिमा क्षेचु ङेरङा पूजा, टुक्पा छेसी (क्ष्योकोर थुचेन पूजा), ल्हावक थुचेन (बुद्ध देवलोकबाट मनुश्य लोकमा आएको पर्व) पूजा, क्ष्योठूल थुचेन (बुद्धले धार्मिक प्रतिस्पर्धामा विजय प्राप्त गरेको पर्व ) पूजा लगायत विभिन्न तान्त्रिक पूजाआजाहरु विशेष धार्मिक महत्वका छन् । हरेक वर्ष जिल्ला र अन्य विभिन्न क्षेत्रमा बसोबास गर्ने बौद्ध धर्मावलम्बिहरु अवतारी रिन्पोछेको दर्शन गर्न र गुम्बामा हुने विभिन्न पूजाआजाहरुमा सरीक हुन हजारौ भिक्षु लगायतका आउने जाने गर्दछन ।
थुप्तेन दोङाक क्षोलिङ गुम्बाको अर्को महत्व भनेको यहाँको पुरातात्विक सामाग्रीहरु हुन् । साना तथा मझौला किसिमका धलौट धातुबाट निर्मित मुर्तिहरु जुन तिब्बत बाटै ल्याइएको पुरानो शैलीको गौतम बुद्ध, पद्मसंभव, मञ्जुश्री आदि मुर्तिहरु छन् । तामा धातु र चाँदीबाट निर्मित साना तथा मझौला किसिमका चैत्यहरु पनि छन् । तिब्बतमा नै परम्परागत ढंगले छापिएको धेरै पुरानो कग्युर ग्रन्थ १०० ठेली पनि सो गुम्बामा रहेको छ । पौराणिक समयमा नै निर्मित मानिने छ्याम्खो (रिन्पोछे स्वयमले तान्त्रिक पुजा गर्दा लगाउने विशेष पोशाक ) पनि गुम्बामा सुरक्षित राखिएको छ । र यस्ता पुरातात्विक महत्वका सामाग्रीहरु के कती छन र ती कति पुराना हुन भन्ने कुरा थप अनुसन्धानकै विषय छ ।


सहायक सन्दर्भ स्रोतहरुः
१, गोरखापत्र, कार्तिक ३, २०६८
२, स्याम्फेन लामा, थुप्तेन दोङाक क्षोलिङ गुम्बा समिति उपाध्यक्ष
३, सोलुखुम्बु र पर्यटन – हिमाल गिरी
४, भिक्षु छोयाङ लोटो