सामन्ती राज्यद्वारा विभेद र उत्पीडनमा पारिएकाहरुलाई विशेष अधिकार सहित अगाडि ल्याउने प्रचण्डको दाबी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सामन्तवाद विरुद्धको एउटा लडाइँ जिते पनि सम्पूर्ण युद्ध भने जित्न बाँकी रहेको बताउनुभएको छ । आदिवासी जनजाति महासंघ, नेपालको एकता घोषणा–सभा तथा शपथ–ग्रहण समारोहको राजधानीमा उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘हामी अझै एकतावद्ध हुनुपर्ने र बदलिएको परिस्थितिमा हिजोको आन्दोलन र बलिदानबाट जे जति उपलब्धी प्राप्त भएको छ, तिनको रक्षा गर्ने कुरामा सतर्क रहनुपर्ने भएको छ ।’

जबसम्म सबैलाई समान अधिकार प्राप्तिको सुनिश्चितता गरिँदैन र सामन्ती राज्यद्वारा विभेद र उत्पीडनमा पारिएकाहरुलाई विशेष अधिकार सहित अगाडि ल्याउने वातावरण बनाइँदैन तबसम्म समानताको मात्रै कुरा गर्नु भ्रम हुन जाने उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘हामीले यो बिषयलाई जनवादी क्रान्तिको पूर्णता र समाजवादी क्रान्तिको तयारीसँग जोडेर हेर्न आवश्यक छ ।’

अध्यक्ष प्रचण्डले पूँजीपतिहरु र साम्राज्यवादीहरुले जातीय प्रश्नको कुरा गर्दा जहिले पनि साप्रदायिक विद्वेष फैलाउने र जाति जातिको बीचमा लडाइँ सृष्टि गर्ने गर्दै आएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, ‘तर कम्युनिष्टहरुले भन्ने गरेको जातीय हक, अधिकार र मुक्तिको कुरा बुर्जूवाहरु र साम्राज्यवादीहरुले भनेको भन्दा विल्कुल फरक कुरा हो । यही निर कहिले काही बुद्धिजीविहरु पनि भ्रममा पर्ने गर्दछन् ।’

जातिय हक अधिकार साप्रदायिकताको बिषय नभई मुक्ति र समानताको बिषय भएको बताउनुहुँदै जनवादी क्रान्तिलाई पूर्णता दिने र समाजवादी क्रान्तिको तयारी गर्ने बिषय भएको अध्यक्षले स्पष्ट पार्नुभयो । अध्यक्षले भन्नभयो, ‘जबसम्म वर्गीय मुक्ति र जातिय मुक्तिको ठीक ढंगले परिभाषित गरेर अगाडि बढिदैन, न जनवादी क्रान्तिले पूर्णता प्राप्त गर्ने न समाजवादी क्रान्तिको तयारी राम्रोसँग हुन्छ । त्यसकारण कम्युनिष्ट पार्टीको निम्ति र मार्क्सवादीहरुको निम्ति निकै ठूलो सैद्धान्तिक र रणनैतिक महत्वको प्रश्न हो ।’