असोज १ गतेदेखि पढाइ सुरु हुने

काठमाडौँ – कोरोना भाइरसको महामारीका कारण पाँच महिनादेखि ठप्प पठनपाठन असोज १ गतेदेखि हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक विद्यार्थी सिकाइ निर्देशिका जारी गरी पठनपाठन शुरु गर्ने भएको हो । निर्देशिका मंगलबारसम्म सार्वजनिक गर्ने शिक्षामन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री केपी ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई वैकल्पिक विधिबाट तत्काल पठनपाठन शुरु गराउन र निजी विद्यालयलाई सो माध्यमबाट पढाएबापत शुल्क लिने व्यवस्था तत्काल लागू गर्न निर्देशन दिएपछि मन्त्री पोखरेलले निर्देशिका तयार गर्न लाग्नुभएको हो ।

निर्देशिकामा विद्यार्थी भर्ना गरी शैक्षिक तथ्यांक तयार गर्ने, पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रमलाई समायोजन गरी करिब ७० प्रतिशत मात्र पढाउने व्यवस्था गर्नेछ । निर्देशिकामा पाठ्यक्रम विकास केन्द्रले पाठ्यभार समायोजन गर्ने विषय उल्लेख छ ।

शिक्षामन्त्री पोखरेलले शुक्रबार भर्चुअल पत्रकार सम्मेलन आयोजना गरी निर्देशिका सार्वजनिक गरी वैकल्पिक विधिबाट पठनपाठन शुरु गरिने बताउनुभएको थियो । मन्त्रालयका प्रवक्ता दीपक शर्माले निर्देशिका जारी भएपछि सबै विद्यालयले अनिवार्यरुपमा पठनपाठन शुरु गर्नुपर्ने बताउनुभयो ।

चैत ४ गतेबाट विद्यालय बन्द भएपछि सामुदायिक विद्यालयका अधिकांश शिक्षकले पढाएका छैनन् । केही विद्यालयले मात्र अनलाइन विधिबाट पठनपाठन शुरु गरेका छन् ।

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक डा। तुलसी थपलियाले वैकल्पिक विधिबाट पढाउन पाठ्यक्रम तयार गरे पनि विद्यालयमा पढाइ हुन नसकेको बताउनुभयो ।

केन्द्रले तयार गरेको पाठ्यक्रम स्थानीय तहमार्फत विभिन्न स्थानीय र राष्ट्रिय टेलिभिजन, रेडियो नेपाल र स्थानीय एफएममार्फत पढाइरहेका छन् । लकडाउन घोषणा गरेपछि अधिकांश विद्यालयमा क्वारेन्टाइन भएका कारण पढाइ हुन सकेको थिएन ।निर्देशिका जारी गरेपछि शिक्षकले अनिवार्यरुपमा पढाउनुपर्नेछ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यो वर्षको शैक्षिकसत्र खेर जान नदिन सहज सिकाइ निर्देशिका जारीगरी तत्काल पठनपाठनको व्यवस्था गर्न लागेको बताउँदै आउनुभएको छ ।

निर्देशिकामा शिक्षकले विद्यार्थीको मूल्यांकन गरी नतिजा तयार गर्ने, आफ्नो कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने, विद्यार्थीको प्रभावकारी संलग्नता सुनिश्चित गर्ने, पाठ्यवस्तु संकुचन गरिएको अवस्थामा सोही आधारमा विद्यार्थीको मूल्यांकन गर्नुपर्ने उल्लेख छ ।

विद्यार्थी भर्नागरी तयार भएको अभिलेखको आधारमा प्रअले शैक्षिक तथ्यांक विद्युतीय एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीको आधारमा पाठनपाठन शुरु गर्नुपर्नेछ । आजको समाचार पत्रमा खबर छ ।