दिल्लीमा अक्टोबर ३१ सम्म विद्यालयहरु बन्द

एजेन्सी – कोभिड–१९ को महामारीका कारण लामो समयदेखि बन्द भएका भारतको राजधानी नयाँ दिल्लीका विद्यालय यो महिनाको अन्त्यसम्म नखुल्ने भएका छन् । विद्यालयहरू यस महिनाको अन्त्यसम्म बन्द नै रहने दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोडियाले बताएका छन् ।

‘दिल्लीमा विद्यालयहरू बन्द राख्ने निर्णयलाई थपिएको छ । मैले दिल्लीमा सबै विद्यालयहरू अक्टोबर ३१ सम्म बन्द गर्ने निर्देशन जारी गरेको छु । यसबारेको आदेश चाँडै जारी गरिनेछ,’ सिसोडियाले भने ।

भारतमा शैक्षिक संस्थाहरूलाई सोमबारदेखि आंशिक भए पनि खोल्ने भन्ने चर्चा चुलिएका बेला उपमुख्यमन्त्री सिसिडियाले यसबारे सरकारी धारणा सार्वजनिक गरेका हुन् । यस पहिलेको निर्देशनमा महामारीका कारण नयाँ दिल्लीमा विद्यालयहरूलाई अक्टोबर ५ सम्म बन्द गर्ने उल्लेख गरिएको थियो ।