एसइई परीक्षा लकडाउन खुलेको दुई सातापछि

काठमाडौँ – शिक्षा मन्त्रालयले लकडाउन खुलेको २ सातापछि माध्यमिक शिक्षा परीक्षा (एसइई ) गर्ने तयारी गरेको छ । सांसदहरु, प्याब्सन, एनप्याब्सन लगायतका विभिन्न संघसंस्थाले एसईई परीक्षा नगराउन आग्रह गरेपनि कानुनबमोजिम एसईई परीक्षा गराउनुपर्ने बाध्यता रहेको भन्दै राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय परीक्षा सञ्चालन तयारीका लागि आन्तरिक गृहकार्यमा जुटेका छन् ।

शिक्षा ऐनमै परीक्षा बोर्डले परीक्षा लिने स्पष्ट रहेको भन्दै विद्यालयले लिएको परीक्षालाई आधार मानेर स्तर निर्धारण गर्न नमिल्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए । उनका अनुसार कानुनतः परीक्षा गराउनैपर्छ । साथै ४५ दिनमा नतिजा सार्वजनिक गर्ने र विद्यार्थीलाई घरपायक परीक्षा केन्द्र निर्धारण गर्ने बोर्डले जनाएको छ ।

विश्वका १४४ वटा परीक्षा बोर्डमध्ये ७३ वटाले मात्र परीक्षा स्थगित गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

गतवर्ष चैत्र ६ गतेदेखि सञ्चालन हुन लागेको परीक्षा ५ गतेपछि स्थगित भएको थियो । परीक्षामा ४ लाख ८२ हजार ७ सय ७ जना एसईई परीक्षा दिने तयारीमा छन् ।