काठमाडौँमा कोरोना :भुसको आगोझैँ भित्रभित्रै सल्किँदै

काठमाडौँ – कडा निषेधाज्ञा । सवारी पास बन्द, हिँडडुलमा पनि उत्तिकै कडा बन्देज । तर कोरोना संक्रमण भने दैनिक बढ्दै । कथा हो काठमाडौँको । काठमाडौँ उपत्यकामा बुधबार आजसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन् ।

दिन दोगुना रात चौगुना भनेझैँ काठमाडौँमा कोरोना संक्रमित दैनिक बढिरहेका छन् । बुधबार काठमाडौँमा संक्रमित संख्याले हालसम्मकै रेकर्ड तोडेको छ । काठमाडौं उपत्यकामा बुधबार ३०१ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार २३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यो पछिल्लो २४ घण्टाको रेकर्ड हो ।

स्वास्थ्य तथा जनंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडौंमा २३०, भक्तपुरमा २४ र ललितपुरमा ४७ जना नयाँ संक्रमित थपिएको जानकारी दिए ।

देशभरमा भने पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ ।