पाटन अस्पतालमा तलब खुवाउनै समस्या, धमाधम राजीनामा दिँदै कर्मचारी

काठमाडौँ – कोभिड–१९ को डेडिकेटेड अस्पतालमध्ये एक पाटन अस्पताल । दैनिक बढ्दो संक्रमणदरमा कोभिड संक्रमण देखिएमा राजधानीका ललितपुरबासीले उपचारार्थ लैजाने नम्बर एक अस्पताल भित्र गनिने पाटन अस्पताल आर्थिक रुपमा भने खस्किँदै गएको छ ।

कोभिड डेडिकेटेड अस्पताल बनेपछि यसमा कोभिड बाहेकका विरामी हत्तपत्त उपचारार्थ पुग्दैनन् । आफ्नै खर्चले चल्दै आएको अस्पतालको आम्दानी दश देखि २५ प्रतिशतमा झरेपछि तलब खुवाउनै मुस्किल बनेको छ । खाशगरी सरकारले दिने भनेको जोखिमभत्ता हालसम्म नदिएकाले कर्मचारीको खर्च व्यवस्थापनमा समस्या भएको अस्पतालले जनाएको छ ।

सरकारका कारण कोभिड कन्द्रीत अस्पतालमा उदार मनसहित कर्मचारीले काम नगर्ने अनि लकडाउनका कारण सर्वत्र रोजगारी गुम्दा भएको कामसमेत छाडेर कर्मचारीले धमाधम राजीनामा दिन थालेका छन । पाटन अस्पतालमा देखिएका समस्याबारे एक साता अघि मात्रै निर्देशक नियुक्त हुनुभएका प्रा.डा. रवि शाक्यसँग हामीले अस्पतालमा देखिएका समस्या र उहाँका योजनाबारे कुराकानी गरेका छौँ ।

पाटन अस्पतालमा कर्मचारीहरु खुशी मनले, आनन्दित मनले काम नगरेको, भएकाले पनि राजीनामा दिने गरेको पाइएको छ किन ?
यहाँले भन्नुभएको कुरा ठीक हो । अस्पतालमा समस्या देखिएको छ । म अस्पतालमा निर्देशक नियुक्त भएको एक साता मात्र भयो । यसबेला स्वास्थ्य कर्मचारीहरुमा ऊर्जा, कार्यसाहस र पर्याप्त समर्थन आवश्यक छ । तर दैनिक २ देखि ३ जना कर्मचारीले राजीनामा दिनुभएको छ ।

किन ?

किनभने सरकारले गत चैत्रमा भनिदियो कोरोना उपचारा खटनेलाई जोखिम भत्ता दिने भनेर । त्यसबेला सबैले धैर्य साहस र आफ्नो कर्तव्य सम्झेर कार्य क्षेत्रमा खटनुभयो । कतिमा संक्रमण भयो । अहिले पनि हाम्रा कतिपय साथी, स्टाफहरु आइशोलेशनमा हुनुहुन्छ । तर ५ महिनादेखि जोखिमत्ता त पाइएन नै अब त कर्मचारीलाई तलबभत्ता खुवाउनै पो समस्या पर्न थालेको छ ।

कसरी ?

पाटन अस्पतालको खर्च व्यवस्थापन अस्पताल आफैँले गर्ने हो । हामी आफैँले कमाएर कर्मचारी पाल्ने गरेका छौँ । तर यतिबेला हाम्रो आम्दानी १० देखि २५ प्रतिशतमा सीमित छ । हाम्रो अस्पताल कोभिड डेडिकेटेड भनिएपछि अन्य रोगका विरामी आउन्नन् त्यसैपनि अहिले अरु रोग लागेकाहरु सकभर कोभिड उपचार केन्द्रित अस्पतालमा जान्नन । अस्पतालमा विरामी नभएपछि स्वतः आम्दानी घटयो अर्कोतर्फ कर्मचारीको व्यवस्थापन खाशगरी सिफ्ट अनुसार ल्याउने लैजाने काम अहिले अस्पतालको बसमार्फत गर्नुपरेको छ । यसले पनि खर्च बढाउने नै भयो । आम्दनी घटदो खर्च बढदो अनि तलबभत्तामा समस्या हुनै नै भयो ।

अनि कसरी व्यवस्थापन भैरहेको छ त ?

यसो छ । हामीलाई सुरुवातमा समस्या थिएन । अहिले पनि हाम्रो पहिलेको रकम इन्ट्रेश आएको कारणले तलब जेनतेन खुवाउन सकेका हौँ । तर अब त्यस्तो अवस्था देखिएन । अर्को महिनादेखि तलबमैँ समस्या देखिन्छ झैँ भैसक्यो ।

कोरोना संक्रमित विरामी दैनिक बढदो छ । उपत्यकामा आजैमात्र हालसम्मकै बढी संक्रमित भेटिएका छन । यस्तो अवस्थामा कर्मचारीले राजीनामा दिने अनि कोरोना लागेमा कसरी उपचार पाउने नागरिकले ?

यस्तो परिस्थिति निर्माणमा सरकारको पनि भूमिका छ । फ्रन्टलाइनमा कोरोनासँग जुधेर काम गर्ने चिकित्सक स्वास्थ्य कर्मचारीलाई न त भत्ता न त कुनै पूर्ण सुरक्षाको ग्यारेण्टी । ज्यानै जोखिममा राखेर काम गर्दा पनि प्रोत्साहन हुने, मनोबल उच्च राख्नेगरी काम नभएकाले स्टाफ हतोत्साही हुन थालेको पाएको छु । तपाईँले काठमाडौँको बानेश्वरमा एक चिकित्सकमाथिको घटना थाहा पाउनुभएकै होला । आर्थिक सामाजिक परिस्थितिले समस्या निम्त्याएको हो ।

सरकारले विमा त गरिदिएको छ नि होइन ?

घोषणा चाहिँ गरिदियो । काम चाहिँ अहिलेसम्म भएन । तपाईँलाई के ढाँट्नु भूकम्पमा पनि अहिलेजस्तै दैनिक अफ ड्युटी अन ड्युटी दिनरात नभनी स्वास्थ्यकर्मीहरु खटनुभयो । त्यतिबेला पनि भत्ताको कुरा मात्रै भयो काम भएन ।

अब यहाँ नै निर्देशक चुनिनुभयो । यहाँको हातमा आयो जिम्मेवारी, के छ योजना ?

म निर्देशक भएको एक साता भयो । मैँले आफूले गर्नसक्ने तहबाट कर्मचारीलाई हिजोकै दिनजत्तिको ऊर्जा र साहससाथ काम गर्नुपर्छ । देश र जनताको यति ठूलो समस्यामा जुझिरहेको अवस्थामा हामीले हिम्मतसाथ काम गर्नुपर्छ भन्ने सोचसाथ पहिले कर्मचारीहरुको मनोबल उच्च पार्ने कार्य गर्नुपर्छ भन्ने सोचसाथ कम्तीमा सकभर कोही पनि कसैलाई पनि रोग नलागोस् अझ उपचारमा खटिने स्वास्थ्यकर्मीलाई त झनै नलागोस तर लागिहालेमा न्युनतम राहत महशुश गर्न सकून भनेर विमा गरिदिने तय गरेका छौँ । अस्पतालले नै सबैको विमा गरिदिन लागेको छ ।

सरकारले कोभिड केन्द्रित अस्पतालमा खर्च दिएको छ नि होइन र ?

सरकारले दिँदै नदिएको होइन । कोरोना उपचारमा ३ क्याटेगोरीको खर्च तोकेर दिने गरेको छ । सामान्य विरामीको उपचार खाना, औषधी सबै खर्चसहित दैनिक ३ हजार, अलि जटिलको ७ हजार र आइसीयूमैँ राख्नुपर्नेलाई १५ हजार दिने गरेको छ । यसरी खर्च आउँछ तर यसले चलेको मात्रै छ । जसोतसो । हाम्रोमा १४०० कर्मचारी छन । मासिक ६ करोड त तलबमा मात्र खर्च हुन्छ । सरकारले कम्तीमा भत्ता दिए थोरै भएपनि राहत हुन्थ्यो । सबैलाई उच्च मनोबलसाथ काममा लगाउन सकिन्थ्यो ।

कर्मचारीले भटाभट छाडेपछि अस्पतालको व्यवस्थापन के कसरी गर्नुहुन्छ आर्थिक प्रशासनिक लगायत ?

अहिले पनि मैँले राजीनामा दिएकाहरुको राजीनामा स्वीकृत गरेको छैन । परिस्थिति दैनिक जटिल बन्दै छ । अनि राजीनामा दिएकाको स्वीकृत गरेर भोलि उपचार कसले गर्ने ? बरु हामी प्रशासनमा बसेका सबैको प्रयास छ राजीनामा दिने वातावरण नै नबनाउने । यस्तो परिस्थिति निर्माणमा प्रयासरत छौँ ।