कोरोना जितेकी आमा भन्छिन् – आत्मविश्वास, तातोपानी र स्वास्थ्यकर्मीले बचाए

वागलुङ – कोरोना संक्रमितमध्ये सबैभन्दा जेष्ठ संक्रमित मनकुमारी पौडेलले पनि रोगलाई जितेकी छिन् । अस्पतालबाट उनलाई अहिले डिस्चार्ज गरिएको छ ।

धौलागिरी अञ्चल अस्पतालको आईसोलेसनमा उपचाररत बागलुङकी ६५ बर्षिय आमाको चौथोपटक गरिएको थ्रोट स्वाव परीक्षणको नतिजा नेगेटिभ आएको थियो ।

डिस्चार्जपछि आमाले खुशी हुँदै स्वास्थ्यकर्मीसबैलाई धन्यवाद दिइन् । आफू पहिलो आत्मविश्वास, दोस्रो नियमित तातोपानी र तेस्रो स्वास्थ्यकर्मीको नियमित हेरचाहले बाँचेको प्रतिक्रिया दिइन ।

कोरोनालाई जितियो, डिस्चार्जपछि अस्पताल परिसरमा भनिन् –‘आत्मबल बलियो गर्नुपर्छ । सधैं तातोपानी पिउँ भन्न चाहान्छु ।

यसअघि बिहिबार गरिएको तेस्रो पटकको परीक्षणमा पनि उनको कोरोना संक्रमण रिपोर्ट नेगेटिभ देखिएको थियो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखराका अनुसार उनको दोस्रो फेजको रिपोर्ट समेत नेगेटिभ आएकाले उनमा कोरोनाको संक्रमण सकिएको पुष्टि भैसकेको छ ।

उनी छैटौं कोरोना संक्रमित महिला हुन् । बेल्जियमबाट कतारहुँदै नेपाल आएकी उनमा गत चैत २० गते कोरोना संक्रमण देखिएको थियो ।