लिदी पहिरो अपडेट : ७ जनाको शव फेला, ३१ जना अझै बेपत्ता

काठमाडौँ – सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरामा परी मृत्यु भएका सात जनाको शव फेला परेको छ ।

पहिरोमा परेकामध्ये अझै ३१ जना बेपत्ता छन् । हालसम्म प्राप्त जानकारीमा पहिराले ३७ घर पुरिएको छ । पहिरामा परी घाइते भएका १४ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाञ्चोक, कालीकोट र मकवानपुरमा पहिराले गर्दा मानवीय क्षति भएकामा दुःख व्यक्त गरेका छन् ।

बाढीपहिरामा मृत्यु भएकाप्रति दुःख व्यक्त र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना उनले गरेका छन् । पार्टीका नेता तथा कार्यकर्ता, युवा, स्थानीय बासिन्दा, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई बेपत्ता भएकाको खोजी र उद्धारमा जुट्नसमेत आग्रह गरेका छन् ।