आइपिएल : चेन्नईलाई हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लियो

एजेन्सी – चेन्नई सुपर किंग्सलाई हराउँदै दिल्ली क्यापिटल्स यूएईमा जारी आईपीएल टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । सारजाहमा शनिबार राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ५ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

चेन्नईले दिएको १ सय ८० रनको लक्ष्य दिल्लीले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर पुरा गर्‍यो । दिल्लीलाई जित दिलाउन शिखर धवनले शतकीय इनिङ्स खेले । धवनले अविजित रहदै १ सय १ रन बनाए । यस्तै मार्कुस स्टोनिसले २४ रन जोड्दा कप्तान श्रेयस एयरले २३ रन बनाए । अक्षर पटेल २१ रनमा अविजित रहे ।

रोमान्चक खेलको अन्तिम ओभरमा दिल्लीलाई जितका लागि १७ रन चाहिएको थियो । यस्तोमा पटेलले अन्तिम ओभरमा तीन छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । चेन्नईका लागि फाप डु प्लेसिसले ५८ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै अम्बाती रायडुले अविजित ४५ रन जोड्दा सेन वाट्सनले ३६ रन बनाए । रबिन्द्र जडेजा ३३ रनमा अविजित रहे । दिल्लीका एनरिच नोर्टजेले २ विकेट लिए । तुषार देशपाण्डे र कागिसो राबडाको नाममा एक एक विकेट रह्यो । चेन्नईविरुद्ध एक विकेट लिएसँगै राबडाले आईपीएलमा ५० औं विकेट पुरा गरेका छन् । जितसँगै दिल्लीले ९ खेलबाट १४ अंक जोडेको छ ।