कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७३ पुग्यो

काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं, पर्सा र मोरङमा एक एक जना गरी थप ३ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

प्रवक्ता डा. गौतमका अनुसार काठमाडौँको टोखा नगरपालिका ६ बस्ने ४१ वर्षिय महिलाको साउन २३ गते कोरोनाबाट मृत्यु भएको हो । उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यस्तै पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका ३ छप्कैयाका ७४ वर्षिय वृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

मधुमेह र दमबाट पीडित ती वृद्धको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।यसैगरी मोरङको वीराटनगर महानगरपालिका ९ का ५८ वर्षका पुरुषको पनि साउन २३ गते उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएको हो । उनी उच्च रक्तचाप र निमोनियाका विरामी थिए ।

यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।