पर्सामा कोरोना संक्रमणबाट थप एकको मृत्यु

पर्सा – कोरोना संक्रमणबाट पर्सामा थप १ जना पुरुषको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का ४६ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको नारायणी अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिए । वीरगन्जको गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ५ बजे संक्रमित पुरुषको मृत्यु भएको हो ।

साउन १८ गते नारायणी अस्पतालमा गरिएको पीसीआर जाँचका लागि स्वाब संकलन गरिएका ती पुरुषमा साउन १९ गते राति कोरोना संक्रमण पुष्टि भएको थियो । महुमेहका रोगी पुरुषमा खोकी, ज्वरोका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार राति ९ बजे वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पताल भर्ना गरिएको थियो ।

उनको मृत्युबारे स्वास्थ्य मन्त्रालयले भने आधिकारीक पुष्टि गर्न बाँकी छ । थप एकको मृत्यु भएसँगै पर्सामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।