नेपालमा फेरि थपिए कोरोना संक्रमित, संक्रमित २७६ पुगे

काठमाडौँ – आज एकैदिन नौ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो जानकारी अनुसार कपिलवस्तुमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि आजै एकैदिन ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आज बर्दिया, सिरहा, पर्सा, सर्लाही र चितवनमा कोरोना संक्रमण देखिएको थियो । बर्दिया नार्खु–११ की २८ वर्षीया महिला, सिरहा, सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, वीरगञ्ज–१२ निवासी २८ र २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै सर्लाही रामनगर–४ निवासी १८ वर्षीया महिला र चितवन गढौली–१ की २५ वर्षीया महिलामा पनि आजै कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको छ । हालसम्म कोरोना संक्रमितमध्ये ३६ जना उपचारपछि ठीक भएका छन् ।