थप १०८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६ हजार ५३१ पुग्यो

काठमाडौँ – नेपालमा आज थप १०८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप १०८ जनामा कोरोनाको संक्रमण देखिएको जानकारी दिनुभयो ।

थप १०८ जनामा संक्रमण देखिएसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १६ हजार ५३१ पुगेको छ । हालसम्म देशभरका सबै ७७ वटै जिल्लामा कोरोना संक्रमण देखिएको भएपनि ५ जिल्ला भने कोरोना संक्रमणबाट मुक्त भएका छन ।

त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३५ पुगेको छ । पछिल्लो २४ घण्टामा १३९ जना निको भएर घर फर्किएका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७ हजार ८९१ पुगेको छ ।