सार्वजनिक सवारी चल्न दिने सरकारको निर्णय

काठमाडौँ – सरकारले काठमाडौं उपत्यकाभित्र ट्याक्सी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीवार बसेको बैठकले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्र र उपत्यकाबाहिर सम्बन्धित जिल्लाभित्र मात्र सार्वजनिक यातायातका साधन चलाउन दिने निर्णय भएको सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

उनका अनुसार ट्याक्सीमा चालकसहित ३ जना मात्र यात्रा गर्न पाइनेछ । तर एकै परिवारका सदस्य भए एउटा ट्याक्सीमा ५ जनासम्म यात्रा गर्न पाइनेछ ।

चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा अनिवार्य लगाउनुपर्नेछ । ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्नेछ भने यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्नेछ । साथै सामाजिक दूरी कायम गर्न सिटको एउटा पंक्तिमा एक जनामात्र राख्नुपर्नेछ ।

लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकामा निजी सवारी साधन सञ्चालनमा आएका थिए । व्यवसायीले बैंकको किस्ता तिर्न समेत गाह्रो भएको भन्दै उचित सुरक्षा अपनाएर सवारी साधन चलाउन पाउनुपर्ने माग राख्दै आएका थिए ।

सरकारले लामो दूरीका सवारी साधन चलाउनमा भने अझै रोक लगाएको छ । त्यस्तै सरकारले सार्वजनिक यातायातको भाडा ५० प्रतिशत बढाउने निर्णय समेत गरेको छ ।

सिट क्षमता अनुसार सञ्चालन नहुने भएकाले सञ्चालन खर्चका लागि हाल कायम भाडाको ५० प्रतिशत थपेर लिन पाउनेछन् । तर, ट्याक्सीले भने बढी भाडा लिन नपाउने मन्त्री खतिवडाले बताए ।