थप २७४ जनामा संक्रमण, संक्रमित १९ हजार ५४७ पुगे

काठमाडौँ – नेपालमा थप २७४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप २७४ जनामा कोरोनाको संक्रमण देखिएको जानकारी दिनुभयो ।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १९ हजार ५४७ पुगेको छ । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घन्टामा २२७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १४ हजार २४८ पुगेको छ ।

थप ३ को मृत्यु

यसैबीच, कोरोना भाइरसको संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्जका २ र मोरङ्ग सुनवर्षिका १ जना रहेको स्वास्थ्यमन्त्रालयले जनाएको छ । नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. गौतमले तीनजना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिनुभयो ।

नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड विशेष अस्पतालमा बुधबार बिहान उपचाररत ६८ वर्षीय पुरुष, अर्का ६० वर्षीय पुरुष र मोरङ्ग सुनवर्षि नगरपालिकाका भारतबाट आउजाउ गर्ने एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको बताउनुभयो ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।