प्याब्सनको टेलिभिजन शिक्षण आजदेखि फेरि सुरु हुने

काठमाडौँ – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) ले स्थगित गरेको वैकल्पिक शिक्षण अन्तर्गतको टेलिभिजन माध्यमबाट अध्यापन आजदेखि फेरि सुरु गर्ने भएको छ ।

प्याब्सनले असार १ गतेदेखि टेलिभिजनबाट पढाउन थालेको भएपनि सरकारसँग राखिएका माग पूरा नभएको भन्दै साउन १ गतेदेखि बन्द गरेको थियो । अभिभावक र शिक्षक संगठनको दबाबपछि प्याब्सनले वैकल्पिक शिक्षण अन्तर्गत अनलाइन कक्षाहरु गतसातादेखि नै सूरु गरिसकेको छ ।

टेलिभिजन शिक्षण भने आजदेखि गराउन लागेको हो । प्याब्सनले जनता टेलिभिजन, टिभी टुडे, योहो टेलिभिजन र टिभी टुडेकै अर्को च्यानल टिभी वानबाट दूरशिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।

यसपटक पूर्व प्राथमिक तहका कक्षामा भने टेलिभिजन शिक्षण केही समयलाई रोकिएको प्याब्सन दुरशिक्षा कार्यक्रम समिति सदस्य एवं केन्द्रीय प्याब्सनका उपमहासचिव आरबी कटुवालले खुल्लापाटीलाई जानकारी दिए । उनले भने –‘कक्षा नर्सरी देखि १ सम्मको शिक्षण कार्यक्रम केही समयका लागि रोकिएको छ । अरु तहका यसअघिकै टेलिभिजनहरुमा पहिलेकै समयमा शिक्षण हुनेछ ।’

यस्तो छ रुटिन

प्याब्सनले हरेक कक्षाका विद्यार्थीका लागि फरक फरक टेलिभिजन छनौट गरेको छ । जनता टेलिभिजनबाट कक्षा ७, ८, ९ र १० कक्षाका विद्यार्थीलाई शिक्षण गराइनेछ । जनता टेलिभिजनले विहान १० बजेर ५ मिनेटदेखि १२ बजेर ५५ मिनेटसम्म प्रसारण गर्नेछ ।

टिभी टुडेबाट कक्षा २ देखि ६ कक्षा सम्मका विद्यार्थीलाई शिक्षण गराइने भएको छ । टिभी टुडेले दुई बजेर ५५ मिनेटदेखि ५ बजेसम्म शिक्षण प्रसारण गर्नेछ । कक्षा दुईको २ बजेर ५५ मिनेटदेखि ३ बजेर २० मिनेटसम्म, कक्षा तीनको ३ बजेर २० देखि ३ बजेर ४५ सम्म, कक्षा ४ को ३ बजेर ४५ मिनेटदेखि ४ बजेर १० मिनेटसम्म, कक्षा ५ को ४ बजेर १० मिनेदेखि ४ बजेर ३५, कक्षा ६ को ४ बजेर ३५ मिनेटदेखि ४ बजेर ५५ मिनेटसम्म कक्षा सञ्चालन हुनेछ ।

टिभी टुडेकै अर्को च्यानल टिभी वानले भने टिभी टुडेबाट प्रसारण हुने शिक्षण सिकाईको रेकर्डेड प्रसारण गरिदिने भएको छ ।

विहान ८ बजेदेखि १० बजेसम्म २ देखि ६ कक्षा सम्मको प्रसारण पुनः गर्ने र फेरि १ बजेदेखि ३ बजेसम्म गर्ने भएको छ । त्यस्तै, बेलुका ५ बजेदेखि ७ बजेसम्म फेरि प्रसारण हुने गरेको छ । प्याब्सनले टेलिभिजनबाट मुख्य विषयको शिक्षण सिकाइ गराउँदै आएको छ ।