राखेप सदस्यसचिव सिलवाल र उपाध्यक्ष कोइरालाले लिए सपथ

काठमाडौं – राष्ट्रिय खेलकुल परिषद् (राखेप)का नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवाल र उपाध्यक्ष शिव कोइरालाले पद तथा गोपनियताको शपथ लिएका छन्। सदस्यसचिव सिलवाल र उपाध्यक्ष कोइरालाले बुधबार युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) सँग सपथ लिएका हुन् ।

दुवैलाई गत सोमबारको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको थियो । २०७६ साल असार २३ गते पहिलोपटक सदस्यसचिव नियुक्त भएका सिलवालको गत असार १८ गते जारी भएको नयाँ खेलकुद विकास ऐन २०७७ पछि कार्यकालमा पूर्णविराम लागेको थियो।

नयाँ ऐनले २०४८ सालको खेलकुद ऐन अनुसार राखेपमा रहेका पदाधिकारी पदमुक्त हुने उल्लेख छ। जस अनुसार असार १७ गतेदेखि ऐन कार्यनयन भएपछि राखेप कार्यकारी सदस्य सचिव विहीन भएको थियो।

यसबीचमा राखेपको कार्यवाहक सदस्य सचिवका रुपमा मन्त्रालयका सह सचिव भक्तबहादुर ढकालले काम गरेका थिए।

तर, नयाँ ऐनको प्रावधान अनुसार पुनः चार वर्ष नेपाली खेलकुदको नेतृत्त्व सिलवालले पाएका हुन् । यसअघिको कार्यकालमा उनले

दक्षिण एसियाली खेलकुद (साग)को सफल आयोजना र नेपाल क्रिकेट संघ (क्यान)को विवाद टुङग्याएर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को प्रतिबन्ध फुकुवा गराउन सफल भएका थिए ।