बायर्न उपाधि विजेता, इतिहास रच्नबाट यसरी चुक्यो पिएसजी

काठमाडौँ – च्याम्पियन्स लिगको उपाधि जर्मन क्लब बायर्न म्युनिखले जितेको छ। पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको पीएसजीमा नेयमार, एम्बाप्पे, डी मारिया, थियागो सिल्भा जस्ता स्टार खेलाडी भए पनि उपाधि जित्ने सपना पूरा हुन सकेन ।

आइतबार राति पोर्चुगलको लिस्बनमा भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० ले पराजित गर्दै बायर्नले उपाधि आफ्नो पोल्टामा पारेको हो । सात वर्षपछि बायर्नले छैटौं पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो। बायर्नका लागि खेलको ५९औं मिनेटमा किङ्स कोमनले गोल गरेका थिए । जुन जितका लागि पर्याप्त बन्यो ।

फाइनल खेलमा आठ वटा पहेँलो कार्ड देखाइएको थियो। दुवै टोलीका चार/चार खेलाडीले पहेँलो कार्ड पाएका थिए।