कालिकोटमा पहिरो, एकै परिवारका ६ सहित ८ जनाको मृत्यु

प्रतिकात्मक तस्वीर

काठमाडौँ – कालीकोटको नरहरिनाथ गाउँपालिकाको ७ बागामा पहिरो जाँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । स्थानीय ६२ वर्षीय गंगे बुढाको घरमा पहिरो खस्दा पहिरोले पुरिएर ६ जनाको मृत्यु भएको हो ।

एकजना घाइतेको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा गंगेसहित उनकी श्रीमती ६२ वर्षीया मैना बुढा, २४ वर्षीया बुहारी उषा बुढा, १० वर्षीया नातिनी चन्द्रिका बुढा, नातीहरु ७ वर्षीय राम बुढा र डेढ वर्षीय चरित्र बुढा रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

उनका अनुसार पहिरोमा परेर गम्भीर घाइते भएकी १८ वर्षीया विमला बुढालाई उद्धार गरी कुमालको स्वास्थ्य चौकीमा ल्याएको थियो। त्यहाँ उनको उपचारका क्रममा मृत्यु भएको हो। घरमा पुरिएकाको खोजी गर्न प्रहरी चौकी कुमालगाउँबाट प्रहरी टोली घटनास्थल पुगेको डीएसपी ओलियाले बताए ।

यस्तै नरहरीनाथ गाउँपालिका ४ गोठीमा पहिरो जाँदा बले बुढाको घर पुरिएको छ । बले बुढा र उनकी श्रीमती पहिरोमा बेपत्ता भएका छन् । मंगलबार बिहान रास्कोट नगरपालिका९१, बडलतोलामा गंगे खहरे खोलाको बाढीले बगाएर वेपत्ता भएका पाँचजनाको शव अझै भेटिएको छैन ।

उनीहरुको खोजीका लागि कालिकोटबाट थप प्रहरीको टोली घटनास्थल पठाइएको डीएसपी ओलियाको भनाइ छ । यस्तै सान्नीत्रिवेणी गाउँपालिका २ मा पहिरो खस्दा एक घर पुरिएको छ । बाँकी ८ घर जोखिममा परेका छन् । मानवीय क्षतिको विवरण प्राप्त भएको छैन ।