भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, २४ घण्टामा ५० हजारबढी संक्रमित

काठमाडौँ – भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा नयाँ रेकर्ड कायम भएको छ । तीन दिनयता लगातार ४८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ५२५ संक्रमित भेटिएका छन् । लगातार संक्रमितको संख्यामा वृद्धि हुँदै आएको भारतमा सोमबारको यो तथ्यांक अहिलेसम्मकै धेरै हो ।

यसअघि आइतबार, शनिबार र शुक्रबार लगातार ४८ हजारभन्दा बढी संक्रमित भेटिएका थिए ।भारतमा कुल संक्रमित संख्या १४ लाख ३६ हजार १९ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो । कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७१४ जनाको मृत्यु भएपछि सोमबार बिहानसम्म ज्यान गुमाउनेको ३२ हजार ८१० पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

संक्रमितमध्ये अहिलेसम्म ९ लाख १८ हजार ७३५ संक्रमणमुक्त भएका छन् भने ४ लाख ८४ हजार ४७४ जनाको उपचार भइरहेको छ ।