आज पनि पशुपतिनाथ नखुल्ने

काठमाडौँ – साउन महिनाको दोस्रो सोमबार आज हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन् । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गर्ने चलन भए पनि यस वर्ष कोरोनाका कारण घर–घरमै पूजाआजा गरिँदै छ ।

साउनको दोस्रो सोमबार पनि पशुपतिनाथको मूल मन्दिर भक्तजनका लागि नखुल्ने भएको छ ।कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि बन्दाबन्दी लागू भएपछि देशका मुख्यमुख्य मन्दिर, शैक्षिक संस्थालगायत धेरै भीड हुने कार्यालय अझैसम्म पनि बन्द छ ।

अन्य क्षेत्रको बन्दाबन्दी खुला गरिए पनि सरकारले पछिल्लो पटक गरेको निर्णयमा मन्दिर, शैक्षिक संस्थालगायत नखोल्ने नै नीति लिएकाले मन्दिर नखोलिने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

साउनको पहिलो सोमबार ५ गते हजारौँ भक्तजनले पशुपति क्षेत्रका विभिन्न शिवालयमा पूजा आराधना गरेका थिए । मूल मन्दिरमा साउन महिनामा पनि दर्शन गर्न नपाइएको भन्दै भक्तजनले गुनासो गरेका थिए । उपत्यका एवं देशका अन्य शिवालयमा भने भक्तजनको भीड लागेको थियो ।

पशुपति क्षेत्रकै विषयमा विद्यावारिधि गरेका कोषका पूर्वसदस्य सचिव डा गोविन्द टण्डन यसअघि भएका विभिन्न किसिमका महामारीका बेलामा पनि पशुपतिनाथको मूल ढोका बन्द नगरिएको बताए । भूकम्पलगायत प्राकृतिक प्रकोपका बेला भक्तजन आफैँ सतर्क भएर केही दिन मन्दिर नजाने क्रम विगतमा हुन्थ्यो ।

यसपटक चैत ११ गतेदेखि सरकारले निषेधाज्ञा नै जारी गरेर नजान आह्वान गरेको छ ।