नेपालमा कोरोनाः ४२ संक्रमित, ५ जना उपचारपछि फर्किए घर

काठमाडौँ । उदयपुरमा थप ११ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या अब ४२ पुगेको छ ।

उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा मंगलबार साँझ १०जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि मंगलबार दिउँसो पनि एक जना व्यक्तिमा कोभिड–१९ को संक्रमण पुष्टि भएको थियो । मंगलबार मात्रै उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिद टोलका थप ११ जनामा पनि कोरोना पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३ जनामा कोरोना पोजेटिभ देखिएको हो भने बाँकी ८ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ नतिजा देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

कोरोना संक्रमित ५ औँ व्यक्ति पनि डिस्चार्ज

यसैबीच, कोरोना संक्रमित पाँचौ व्यक्ति पनि डिस्चार्ज भएका छन् । उनी सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित हुन् ।

३४ वर्षीय युवक मंगलबार साँझ सञ्चो भएर अस्पतालबाट घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

धनगढी उपमहानगरपालिका– ५ घर भएका उनी ३० दिनअघि अस्पताल भर्ना भएका थिए। लगातार दोस्रो रिपोर्ट नेगेटिभआएपछि डिस्चार्ज गरेको अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले जानकारी दिए ।

दुबईबाट आएका उनी चैत ११ गते सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका थिए। चैत १४ गते कोरोना पुष्टि भएको थियो।