देशका विभिन्न स्थानमा पहिरो : सिन्धुपाल्चोकमा १३ घर पुरिए, कालिकोटमा एकै परिवारका ६ जनाको मृत्यु

काठमाडौँ – देशका विभिन्न स्थानमा गएको पहिरोका कारण ठूलो मात्रामा जनधनको क्षति भएको छ । सिन्धुपाल्चोकको लिदीमा भीषण पहिरो गएको छ ।

पहिरोमा १३ घर पुरिएका छन भने पाँच घरका सबै परिवार वेपत्ता भएका छन । जिल्लाको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा गाउँमा पहिरो जाँदा १३ वटा घर पुरिएका हुन ।

५ घरका सबै सदस्य सम्पर्कविहीन भएका छन् । केही थप घरहरु जोखिममा रहेको र पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन भएको जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

भौगोलिक विकटता र भिरालो जमिनका कारण माथिबाट पहिरो आएको र तलबाट पनि जमिन भासिएकाले उद्धारमा कठिनाइ भइरहेको बताइएको छ । शुक्रबार बिहान करिब ६ बजेतिर पहिरो आएको हो ।

कालिकोटमा एकै परिवारका छ जनाको मृत्यु

यसैबीच, कालीकोटमा पहिरोले एक घर पुर्दा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । निरन्तरको वर्षाका कारण कालिकोटको महावै गाउँपालिका–३ नकुमा पहिरोले घर पुर्दा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार राति साढे १२ बजे सोही वडा वडा सदस्य रजबहादुर विष्टको घर पहिरोले पुरेको हो । प्रहरीका अनुसार पहिरोमा परी १९ वर्षीया शान्ति विष्ट, १० वर्षीया रेशा विष्ट, १३ वर्षीय पुष्प विष्ट, ११ वर्षीय प्रविण विष्ट, १८ वर्षीय सविना विष्ट र १५ वर्षीय आशा विष्टको मृत्यु भएको छ।

त्रिभुवन राजपथमा पहिरोमा बेपत्ताको भेटियो शव

त्यस्तै, त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा गएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ । पहिरो खस्दा बेपत्ता भएका स्थानीय ५४ वर्षीय काले मोक्तानको आज विहान शव भेटिएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिनुभयो ।

बिहीबार बेलुका गैरीगाउँमा सञ्चालनमा रहेको ढुङ्गाखानी जाने सडकमाथि ढिस्को खसेको थियो । पहिरोमा परी एउटा स्काभेटर र तीनवटा टिप्पर पनि पुरिएका छन् ।