कोरोना भाइरस अपडेट : थप १०० जनामा संक्रमण, २ जनाको मृत्यु

काठमाडौँ – नेपालमा आज थप १०० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप १०० जनामा कोरोनाको संक्रमण देखिएको जानकारी दिनुभयो।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १८ हजार ९४ पुगेको छ । पछिल्लो २४ घन्टामा २०७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १२ हजार ६८४ पुगेको छ ।

थप २ जनाको मृत्यु, मृतकको संख्या ४२ पुग्यो

कोरोना भाइरसका कारण नेपालमा आज थप २ जना व्यक्तिको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाबाट संक्रमित धनुषाका ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यस्तै, काठमाडौंमा ५९ वर्षीय चिनियाँ महिलाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रमममा निधन भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगेको हो ।