कक्षा ११ को परीक्षा अबदेखि विद्यालयले नै लिने

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा सम्बन्धित विद्यालयहरुले नै लिने गरी कार्यविधि बनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले नै कक्षा ११ को परीक्षा लिने गरेकोमा अबदेखि सम्बन्धित विद्यालयले नै लिनेगरी बोर्डले कार्यविधि बनाएको हो ।

अबदेखि परीक्षा सञ्चालन, नतिजा प्रकाशन र लब्धाङ्कपत्र प्रदान गर्ने जिम्मेवारी विद्यालयका प्रधानाध्यापकको संयोजकत्वमा गठित तीन सदस्यीय समितिलाई दिइएको बोर्डले जनाएको छ । ग्रेडवृद्धिका लागि फारम भरेका विद्यार्थीको परीक्षा समेत विद्यालयले लिएपनि प्रमाणपत्र भने बोर्डले नै दिने छ ।

कक्षा ११ को परीक्षामा नियमित र ग्रेडवृद्धि गरी यसपटक ५ लाख २९ हजार विद्यार्थी छन् ।

कक्षा १२ को परीक्षा असोजमा

बोर्डले कक्षा १२ को परीक्षा असोज महिनाको पहिलो सातादेखि गर्ने भएको छ । सरकारले लकडाउन खुला र भदौ १ गतेदेखि परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेसँगै राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालनको तालिकामा जुटेको हो ।

कोरोना १९ का कारण स्थगित कक्षा १२ को परीक्षा असोज महिनाको दोस्रो सातामा सक्ने गरी तालिका प्रकाशन गरिने भएको छ । विगतमा परीक्षा केन्द्र तय गरिएका २ सय ५० भन्दा बढी विद्यालयहरु क्वारेन्टाइन बनाइएका कारण ती केन्द्रहरु निर्मलीकरण गरी झण्डै दोब्बरको संख्यामा केन्द्र र उपकेन्द्रहरु थपेर परीक्षा सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ । परीक्षा सकिएको १ महिना भित्र नतिजा सार्वजनिक गर्ने योजना बोर्डको छ ।