इस्टु र प्याब्सन/एनप्याब्सनबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौँ – निजी तथा आवासीय विद्यालयहरुका छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल, नेशनल प्याब्सनबीच शैक्षिक समस्या समाधानबारे सहमति भएको छ । आ–आफ्ना माग लिएर आन्दोलनमा उत्रिएका दुवै संगठनबीच सहमति भएपछि प्याब्सन र एनप्याब्सन विरुद्ध लक्षित आन्दोलनका कार्यक्रम फिर्ता लिएको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)का अध्यक्ष होमकुमार थापाले खुल्लापाटीलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो –‘प्याब्सन एन प्याब्सनले शिक्षक कर्मचारीलाई बेतलबी घरबिदा दिने निर्णय लिने भएको छ हामीले पनि उनीहरुविरुद्ध लक्षित आन्दोलनका कार्यक्रम फिर्ता लिएका छौँ ।’ दुवै पक्षबीच भएको सहमतिमा चैत्र सम्मको तलब भुक्तानीका लागि निजी विद्यालयलाई प्याब्सन एन प्याब्सनले निर्देशन दिने सहमति भएको छ । साथै निजी विद्यालयले आयस्रोतका आधारमा जेठदेखि अभिभावकसँग शुल्क लिएर तलब भुक्तानी गर्ने पनि सहमति भएको छ । प्याब्सन एन प्याब्सनले घरभाडा, शिक्षक कर्मचारीको तलब व्यवस्थापनका लागि सरकारले गुनासा सम्बोधन नगरेको भन्दै साउन १ गतेदेखि शिक्षक कर्मचारीलाई बेतलबी घरबिदा दिएर आन्दोलनमा उत्रिएका थिए ।

प्याब्सन एन प्याब्सन आन्दोलनमा उत्रिएपछि इस्टु पनि तलबभुक्तानीको माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम लिएर आन्दोलनमा उत्रिएको थियो । तर दुवै संगठनबीच सहमति जुटेको हो । इस्टुसँग छलफल पूर्व अभिभावकसँग पनि छलफल भएको थियो ।  थापाका अनुसार कोभिड–१९ को असरबारे अध्ययन गर्न दुवै संगठनबीच एक कार्यदल गठन गरेर अघि बढ्ने पनि सहमति भएको छ ।