मुलुकभर वर्षा, सावधानी अपनाउन अनुरोध

काठमाडौँ – मुलुकभर अहिले मनसुनी वायुको प्रभाव रहेकाले धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर रहेको छ ।

क्रमशः नेपाल नजिक आउने क्रममा रहेकाले आज साँझदेखि भने मौसम थप सक्रिय हुने जनाइएको छ । विभागका अनुसार आज देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ केही स्थानमा भारी वर्षा हुने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ । आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वाग्मती, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश नं १, २ का एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।आज न्यून चापीय रेखा नेपाल नजिक आउने भएकाले मनसुन थप सक्रिय हुने जनाइएको छ ।

यसले विभिन्न नदीहरुको बहावसमेत बढाउने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

आज राति देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, २, वागमती, गण्डकी, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ ।

साँझदेखि न्यून चापीय रेखा नेपाल नजिक पर्ने भएकाले वर्षा बढ्ने र बाढीपहिरोको जोखिम हुनेछ ।

सोमबार भने पूर्ण बदली रही धेरै स्थानमा वर्षाको सम्भावना छ । प्रदेश नं १, २, ५, वागमती, गण्डकी प्रदेशका केही स्थानमा र सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

राति भने देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

मंगलबार रातिदेखि भने वर्षा बढ्ने भएकाले नदीको सतहसमेत बढ्नसक्ने हुँदा सतर्क रहन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले अनुरोध गर्नुभएको छ ।