ठूला ७ नदीका तटीय क्षेत्र उच्च जोखिममा

काठमाडौँ – मुलुकभर भारी वर्षासँगै आगामी साउन ८ गतेसम्म ठूला ७ नदीका तटीय क्षेत्र उच्च जोखिममा रहेकाले त्यस क्षेत्र तथा आसपास बस्नेतहरूलाई सतर्क रहन सरकारले अपिल गरेको छ ।

बिहीबारसम्म मनसुनमा बदली भई भारी वर्षा हुने र यसबाट कन्काई, सप्तकोसी, कमला, वाग्मती, नारायणी, भेरी–बबई र पश्चिम राप्तीमा बाढी आउने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तटीय क्षेत्रमा बस्नेलाई सुरक्षित स्थानमा जान भनेको हो ।

प्रदेश १, २, वाग्मती, गण्डकी र प्रदेश ५ का जिल्ला हुँदै बग्ने ठूला तथा सहायक नदीमा पानीको सतह बढ्ने र यसले बाढी र डुबानको जोखिम निम्त्याउने पूर्वानुमान गरिएकाले सुरक्षित स्थानमा जान प्राधिकरणले अनुरोध गरेको हो ।

प्राधिकरणले सुरक्षा निकायसहित स्वयंसेवक, स्थानीय तह, प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर विपद्बाट हुने सम्भावित क्षति न्यूनीकरण एवं खोज तथा उद्धारका लागि तयारी हालतमा रहन र प्रभावित क्षेत्रका बासिन्दालाई स्वयं सतर्क रहन आग्रह गरेको छ ।