मन्त्रिपरिषद् बैठक सम्पन्न, विद्यालय तत्काल नखोल्ने निर्णय

काठमाडौँ – सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । साउन ७ पछिको लकडाउन कस्तो हुने भनेर सरकारका प्रवक्ताले नै नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नेछन् । सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि उडान भने खोल्ने निर्णय गरेको हो । बैठकले उडान खोल्नेगरी गृहकार्य गर्न पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

साउन ८ देखि सिनेमा घर, लामो दुरीका सवारीसाधन, कलेज, विद्यालय लगायत सीमित केही क्षेत्रलाई बन्द गरी अन्य उद्योग, व्यापार, व्यवसाय सञ्चालनमा थप सहजता मिलाउने सरकारले तयारी थालेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीकाअनुसार तत्काल विद्यालय, क्याम्पस नखोल्ने निर्णय भएको छ । अझै कोरोनाको सङ्क्रमण र त्रास कायमै रहेकाले अवस्था सामान्य बनेपछि पठनपाठन खुला गर्ने बैठकले निर्णय गरेको छ ।