काठमाडौँ – साझा यातायातले आजदेखि २६ वटा बस सञ्चालन गर्दैछ । साझाले यसअघि बस चल्दै आएका ८ वटा रुटमा सेवा सुरु गर्न लागेको जनाएको छ। साझाका २६ वटा बसले आजदेखि ८ वटा रुटमा सेवा दिने साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए ।
कोरोना संक्रमणको जोखिमकै बीच सरकारको निर्णयअनुसार सेवालाई प्राथमिकता दिएर पूराना सबै रुटमा बस चलाउन लागिएको उनको भनाइ छ।
‘लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित साझा चल्दै आएका सबै रुटमा साउन १ देखि बस चल्नेछन्,’ पाण्डेयले जानकारी दिए । साझाले सरकारले तोकेअनुसार साविककोभन्दा ५० प्रतिशत बढी भाडा लिएर यात्रुलाई सेवा दिने उनले स्पष्ट पारे ।
यात्रु तथा चालकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सरकारले तोकेका सबै मापदण्ड पालना गरिने साझाले जनाएको छ।
यात्रुलाई अनिवार्य मास्क लगाउन र खुद्रा रकमको व्यवस्था गरेर चढ्न आग्रह गरिएको छ। यात्रुको चाप हेरेर आवश्यकता अनुसार रुटहरुमा बस थप्दै लैजाने योजना साझाले बनाएको छ।
यी हुन् साझा यातायातका बस सञ्चालन हुने रूट
- रत्नपार्क, कलंकी, स्वयम्भू हुँदै बालाजु
- रत्नपार्क, नयाँ बानेश्वर, कोटेश्वर हुँदै सूर्यविनायक
- गोदाबरी, लगनखेल हुँदै रत्नपार्क
- लामाटार, लगनखेल हुँदै रत्नपार्क
- लगनखेल, रत्नपार्क, टिचिङ हुँदै नयाँ बसपार्क
- लगनखेल, रत्नपार्क, टिचिङ हुँदै बुढानिलकण्ठ
- लगनखेल, सातदोबाटो, कलंकी हुँदै थानकोट
- लगनखेल, नयाँ बानेश्वर, चाबहिल हुँदै नयाँ बसपार्क