निजीको मागपत्र : १ गतेदेखि भर्ना, १५ गतेदेखि पढाइ

काठमाडौँ – चैत्र ११ मा लकडाउन यता बन्द निजी शैक्षिक संस्थाका छाता संगठनहरुले शुक्रबार सरकारलाई लिखित मागपत्र पेश गरे । निजी विद्यालयहरु सुरक्षित रुपमा सञ्चालन गर्न पाउनुपर्ने मागसहित प्याब्सन, हिसानलगाएत अन्य निजी संस्थाहरुले रक्षा मन्त्री तथा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेललाई माग पत्र बुझाएका हुन ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)का सह–अध्यक्ष डीके ढुंगानाले वैकल्पिक शिक्षण सिकाईका लागि पनि के कति विद्यार्थी विद्यालय आउने भन्ने सुनिश्चित गर्न १ गतेदेखि विद्यालय प्रशासन खोल्ने वातावरण बनाइदिन भनेको जानकारी दिए । उनले भने – ”सरकारले नै १ गतेदेखि वैकल्पिक शिक्षणविधि थाल्ने भनेपछि १ गतेदेखि प्रशासनिक कार्य सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो भनाई हो । यसका लागि विद्यालय खुला गर्ने गरी निर्णय गरिदिनुहोस् भन्ने हाम्रो मुख्य भनाइ हो । उहाँहरुले क्याबिनेटले निर्णय गर्ने भन्नुभएको छ ।”

असार १ गतेबाट अनलाइनमार्फत विद्यार्थी भर्ना पक्रिया अघि बढाउन पाउनुपर्ने उनीहरुले माग राखेका छन् । यस्तै, असार १५ गतेबाट विद्यार्थीहरु विद्यालय आउने वातावरण बनाई दिन आग्रह गरेका छन् ।