रोल्पामा बम विष्फोट, ४ बालबालिका मारिए

काठमाडौँ – रोल्पाको त्रिवेणी गाउँपालिका–७ स्थित गैरीगाउँमा बिहीबार साँझ बम विस्फोट हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा १४ वर्षीय लोतीराम डाँगी, ११ वर्षीया विमला खत्री, ५ वर्षीय विजय खत्री र १३ वर्षीय गौरव नेपाली रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

बाख्रा चराएर जंगलबाट घर फर्किँदै गर्दा उनीहरुले बम फेला पारेर चलाउँदा विस्फोट भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी चित्रबहादुर गुरुङले जानकारी दिए । टु इञ्च मोटरमा प्रयोग हुने जस्तो बम विस्फोट उनले बताए ।

द्वन्द्वकालमा माअ‍ेवादी र सुरक्षाकर्मीले छाडेको बम भेटेर बालबालिकाले खेलौना ठानेर खेल्दा विष्फोट भएको बुझिएको छ ।