लकडाउन खुलेको तीन सातापछि एसइई

काठमाडौँ । स्थगित परीक्षा सञ्चालनबारे सुझाव दिन सरकारले गठन गरेको समितिले लकडाउन खुलेको ३ सातापछि माध्यमिक शिक्षा परीक्षा (एसइईं) गर्न सरकारलाई सुझाव पेश गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल नेतृत्वको कार्यदलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई यस्तो सुझावसहितको प्रतिवेदन पेश गरेको हो ।

वैशाख २५ पछि लकडाउनको रुप फरक भए जेठ अन्तिम हप्तादेखि एसइइ परीक्षा गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । परीक्षार्थीका लागि घर नजिकै परीक्षा हुनेगरी परीक्षा उपकेन्द्रहरु थप गर्ने र सुरक्षाका उपाय अपनाउनुपर्ने समितिको सिफारिश छ । परीक्षा गर्दा अब सकभर परीक्षार्थीहरुले घरको खाना खाएर परीक्षा केन्द्रमा पुग्न सक्ने गरी उपकेन्द्रहरु थप गर्ने र सुरक्षाका उपाय अपनाउनु पर्ने सुझाव समितिले दिएको छ।

साथै, वैशाख २५ गते भित्र कक्षा १–९ को नतिजा प्रकाशन गर्ने, २५ पछि भिडभाड नगरी भौतिक दूरी कायम गर्दै भर्ना प्रक्रिया थाल्नुपर्ने पनि उल्लेख गरिएको छ ।

समितिले एसइइ र कक्षा १२ को परीक्षा एउटै समय तर दुई सिफ्टमा गर्न सुझाएको छ । प्रतिवेदनमा कक्षा ११ को परीक्षा भने केही समयपछि गर्दापनि हुने सिफारिश गरिएको छ ।

प्रतिवेदन बुझ्दै शिक्षामन्त्री पोखरेलले समितिले पेश गरेको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्ले निर्णय गर्ने जानकारी दिए ।