ई–लर्निङका लागि प्याब्सन र नेपाल टेलिकमबीच सहकार्य

काठमाडौँ – अनलाइनमार्फत अध्ययन गरिरहेका विद्यार्थीहरुलाई इन्टरनेट शुल्कमा राहत तथा नेपाल टेलिकमको नेटवर्क पुगेको स्थानमा अनलाइन कक्षा पु-याउन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले नेपाल टेलिकमसँग समन्वय गरी ई–लर्निङ प्याकेज ल्याउने भएको छ ।

निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालयहरुले अनलाइनमार्फत कक्षा सञ्चालन गरिरहेका भएपनि सबैको पहुँच नपुगेको भन्दै सबैलाई समेटने प्रयासस्वरुप टेलिकमसँग समन्वय गरी विशेष दरमा ई–लर्निङ प्याकेज ल्याउन लागेको प्याब्सन केन्द्रीय उपाध्यक्ष दीपिका रिमाल थापाले खुल्लापाटीलाई जानकारी दिनुभयो । टेलिकमले सहमति गरिसकेको छ । हाम्रोमा सबै सदस्य विद्यालयलाई सूचित गराइरहेका छौँ ।’

प्याब्सनको विशेष अनुरोधमा विद्यार्थी तथा शिक्षक, शिक्षिका , शैक्षिक संस्थालाइ नेपाल टेलिकमले प्याब्सन ई–लर्डनिङ्ग प्याकेज दिन सहमत भएको उहाँको भनाइ छ । प्याब्सन ई–लर्निङ प्याकेज दिए पछि निजी विद्यालयमा अध्यनरत करिब २५ लाख विद्यार्थी, शिक्षक तथा अभिभावकलाई इन्टरनेटमा राहत हुनेछ ।

सुविधा लिन नेपाल टेलिकमको सिमकार्ड हुनुपर्ने तथा *१४४१# मा डायल गर्नु पर्ने छ । साथै बिद्यार्थीहरुले आफ्नो बिद्यालयमा नाम लेखाउनु पर्नेछ । ई- लर्डनिङ्गको सुबिधाको निम्ति *१४४१# मा गएर त्यहा भएको २ वटा विकल्प मध्ये कुनै एक प्रयोग गर्न सकिन्छ ।

सुविधा लिन अभिभावकले आफ्ना छोराछोरीहरुको नाम आ–आफ्नो बिद्यालयमा गई अभिलेखिकरण गर्नुपर्ने उहाँको भनाइ छ ।

कति पर्छ शुल्क ?

उपाध्यक्ष थापाका अनुसार १८ जीबीका लागि बढीमा ५०० पर्छ । यो प्याकेज डाटा रहुन्जेल प्रयोग गर्न सकिनेछ । हाल नेपाल टेलिकमले सर्वसाधारणलाई ५ सयमा ९ जिबी डाटा दिने गरेकोमा सोही दरमा शतप्रतिशत डाटा थप गरेको थापाको भनाइ छ ।

‘यो वर्ष भर नै हामीले सहुलियतमा पाउनेछौँ । यसले देशभरका निजी विद्यालयमा अध्ययनरत अभिभावक तथा शिक्षक शिक्षिकालाई ठूलो राहत मिल्नेछ ।’ उहाँले बताउनुभयो ।

प्याब्सनले थापाको संयोजकत्वमा प्याब्सन ई–लर्निङका लागि समन्वय गर्न तीन सदस्यीय समिति गठन गरेको थियो । समितिमा सचिव शिव कार्की र संगीता सिलवाल सदस्य छन् । सोही समितिले टेलिकमसँग समन्वय गरी ई लर्निङ प्याकेज ल्याउन लागेको हो ।