खेलाडी चेन्जिङ रुम हस्तान्तरण

काठमाडौँ –अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली सेनाको मुख्यालय भद्रकालीमा रहेको फुटबल मैदानमा अन्तर्राष्ट्रिय स्तरको चेन्जिङ रुम निर्माण पछि नेपाली सेनालाई हस्तान्तरण गरेको छ ।

नेपाली सेनाको जंगी अड्डा अगाडी रहेको मैदानको भीभीआईपी प्यारापिटमुनि रहेको २ वटा खेलाडी चेन्जिङ रुम र रेफ्री चेन्जिङ रुम एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गर्नुभयो ।

सेनाको उक्त मैदानलाई ट्रेनिङ मैदानको रुपमा प्रयोग गर्ने भएपछि एन्फाले चेन्जिङ रुमसहित अन्य आवश्यक पूर्वाधारको निर्माण गरेको हो ।

एन्फाले खेलाडी चेन्जिङ रुमलाई कार्पेट, रंग रोगन गर्नुका साथै खेलाडीलाई आवश्यक पर्ने व्यक्तिगत लकरसहित ड्रयर, फिजियोथेरापी बेड, फ्रिज राखेको छ । यस्तै रेफ्री चेन्जिङ रुममा व्यक्तिगत लकरसहित ड्रयर, सोफा टेबल लगायत आवश्यक सामग्री उपलब्ध गराएको छ ।

एन्फाले उक्त निर्माणका लागि करिब १५ लाख खर्च भएको जनाएको छ । एन्फाले फिफा विश्वकप र एसियन कप छनोट अन्तर्गत घरेलु भूमिमा हुने खेलका लागि आउने विदेशी टोलीले यस मैदानमा प्रशिक्षण गर्ने जनाएको छ ।

विश्वकप छनोटको दोस्रो चरणको खेल खेलिरहेको नेपालले अब तीन खेल खेल्न बाँकी रहेको छ ।

नेपालले आगामी असोजमा अष्ट्रेलिया ,जोर्डन र चाईनिज ताईपेसँग घरेलु मैदानमा खेल्दैछ । नेपाल भ्रमण गर्दा तीनै विदेशी टोलीले यस मैदानमा प्रशिक्षण गर्ने छन् ।