विहानैदेखि भारी वर्षा, ठाउँ ठाउँमा पहिरो

काठमाडौँ – आज विहानैदेखिको मुलुकका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । मनसुनी वायु सक्रिय रहँदा देशभर वर्षा भएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सातै प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षा भैरहेको छ ।

कञ्चनपुर, बर्दिया, बाँके, दाङ लगायतका स्थानमा भारी वर्षा भएको र डुबानको खतरा बढेको भन्दै सतर्क रहन आह्वान गरिएको छ । त्यस्तै, कास्कीको पोखरा आसपास पनि भारी मात्रामा वर्षा भैरहेको छ । यता चितवनको माडी क्षेत्रको बनकट्टा, कल्याणपुर र आसपासमा जोखिम छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै, नबलपरासी, तनहूँ, गोरखा, लमजुङ, स्याङजा, पर्वत, गुल्मी र आसपास २४ घण्टामा भारी वर्षा मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पोखरामा ४ को मृत्यु, म्याग्दीमा ७ बेपत्ता

अविरल वर्षापछिको पहिरोले पुरिएर पोखरामा ४ जनाको मृत्यु भएको छ । गएराति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

राति अन्दाजी ३ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ ।

पहिरोमा पुरिएर घाइते भएका अन्य छ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

यस्तै पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पोखरा–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उनकी श्रीमति शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् ।

म्याग्दीमा सात जना बेपत्ता

लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा आज बिहान सात जना बेपत्ता भएका छन् ।

घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए ।

उनका अनुसार भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ । भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए ।

भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको स्थानीयवासीसमेत रहेका वडासदस्य लोकबहादुर पुनले बताए ।