वैशाखयता ८०४ विपद्का घटना, १०४ जनाको मृत्यु

काठमाडौँ – मुलुकमा यही वैशाखदेखि अहिलेसम्म ८०४ वटा विपद्जन्य घटना हुँदा १०४ जनाको मृत्यु भएको छ । उक्त घटनामा परी तीन जना हराइरहेका र ३४९ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सबैभन्दा बढी क्षति चट्याङबाट भएको छ । चट्याङ्मा परेर ४७ जनाले ज्यान गुमाएका छन् । दोस्रोमा पहिरोबाट ३६ जनाले ज्यान गुमाइसकेका छन् ।

विपद्का घटनाबाट अहिलेसम्म तीन हजार ६०० परिवार प्रभावित भएका छन् । दुई हजार ५१५ घरमा आंशिक र २४५ घर पूर्णक्षति भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो । उक्त अवधिमा झण्डै रु ४३ करोड बराबरको आर्थिक तथा भौतिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार उक्त अवधिमा १५२ ठाउँमा चट्याङ पर्दा ४७ जनाको मृत्यु भएको र १६१ जना घाइते भएका छन् । आगलागीका ३३९ घटना हुँदा सात जनाले ज्यान गुमाएका छन् भने ७१ जना घाइते भएका, १७० वटा घर पूर्णक्षति भएको र ११० घर आंशिक क्षति भएको छ । उक्त अवधिमा २३ वटा सर्पको टोकाइका घटना भएकोमा १० जनाको मृत्यु भएको र १४ जना घाइते भएको कार्यकारी अधिकृत पोखरेलले बताउनुभयो ।

उक्त अवधिमा बाढीका भने २३ घटना भएको छ । जसबाट चार जनाको मृत्यु र एक जना वेपत्ता छन् । प्राप्त विवरणानुसार यो बीचमा १०७ वटा पहिरो खसेको र पहिरोमा परेर ३६ जनाले ज्यान गुमाएका छन् । पहिरोमा परी दुई जना बेपत्ता रहेको र २९ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।

रासस