मनाङमा सरकारी कर्मचारीलाई कोरोना, गण्डकी प्रदेशमा आज विहानै थपिए ४२ जना

काठमाडौँ – हिमाली जिल्ला मनाङमा पहिलोपटक कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । मनाङको चामे गाउँपालिकाका एक कर्मचारीसहित गण्डकी प्रदेशमा ४२ जना कोरोना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य निर्देशनालय पोखराले बिहीबार बिहान दिएको जानकारीअनुसार पूर्वी नवलपरासीमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा अब मुस्ताङबाहेक १० वटै जिल्लामा कोरोना संक्रमित फेला परेका छन् । ४२ जना थपिएपछि गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या २८९ पुगेको छ ।