संक्रमित २३०० पुगे, ६४ जिल्लामा फैलियो संक्रमण

काठमाडौँ – कोरोना भाइरसबाट संक्रमितको संख्या नेपालमा २ हजार ३ सय पुगेको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार आज थप २०१ जनामा संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशमा थप १६ जनामा संक्रमण पुष्टि भएको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी अन्वेषण प्रयोगशाला तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा सल्यान, दैलेख र कालीकोटका १६ जनामा संक्रमण देखिएको छ ।

थप संक्रमितहरु दैलेखको नौमुले गाउँपालिका वडा नम्बर ८ का एक जना, नारायण नगरपालिका वडा नम्बर २ का ५ जना र दुल्लु नगरपालिका वडा नम्बर २ का एक जना रहेका छन् । त्यस्तै सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ३ का २ जना रहेका छन् ।

त्यस्तै कालीकोटका महावै गाउँपालकिा वडा नम्बर २ का एक जना, महावै गाउँपालिका वडा नम्बर ४ का ४ महिने बालकसहित २ जना, तिलागुफा नगरपालिका वडा नम्बर २ का एक जना, पलाँता गाउँपालिका वडा नम्बर ७ का एक जना, शुभकालिका गाउँपालिका वडा नम्बर ३ का एक जना र सान्नित्रिवेणी गाउँपालिका वडा नम्बर २ का एक जना रहेका छन् । संक्रमितहरुमध्ये एक जना महिला र बाँकी पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणपछि उपचार गरेर घर फर्कनेको सख्या २७८ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ जना डिस्चार्ज भएका छन् ।

कुल ६४ जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएको मन्त्रालयले जनाएको छ ।