विद्यालय खुलाउने तयारीमा सरकार, सञ्चालन कार्यविधि निर्माण

काठमाडौँ – असार १ गतेदेखि विद्यालय प्रशासन खुला गरेको सरकारले विद्यालय खुलाको तयारी थालेको छ । विद्यालय सञ्चालनका लागि कार्यविधि तयार गर्न शिक्षा तथा मानवस्रोत विकास केन्द्रले केन्द्रका सहसचिव एवं उप–महानिर्देशक अणप्रसाद न्यौपानेको संयोजकत्वमा समिति गठन गरी कार्यविधि बनाएको छ ।

केन्द्रका निर्देशक गेहनाथ गौतमले देशका कतिपय विद्यालय क्वारेन्टिनस्थल बनाइएकाले भोलि विद्यालय खुलेमा कसरी अघि बढ्ने भन्ने गरी काम थालिएको खुल्लापाटीलाई जानकारी दिए । ‘भोलि विद्यालय खुल्दा सामाजिक दुरी कायम गरी पढाउने, शिक्षक विद्यार्थीलाई संक्रमण देखिए के गर्ने भन्ने तयारी हो ।किनकी यो चुनौतीपूर्ण छ ।’ उनले बताए । ‘विद्यालय खुला हुने अवधिभन्दा १५ दिन अगावै सबै तयारी सक्नुपर्ने भन्ने हो ।’ उनले बताए । कार्यविधिले यस्तै विषय समेटेर काम थालेको हो ।

विद्यालय पुनः सुचारु गर्दा संक्रमणको दर सबैभन्दा न्यून रहेको तथा स्थानीय जोखिम सबैभन्दा कम रहेको स्थानबाट र विद्यालयबाट सुरु गर्ने योजना कार्यविधिमा लेखिएको छ । विद्यालय खुलेपछि विद्यालय परिवारबाहेक अन्य व्यक्तिलाई विद्यालय परिसरमा आउन निषेध गर्ने र अत्यावश्यक कामका लागि नआई नहुने परिस्थिति भएमा प्रधानाध्यापकको अनुमति लिई मास्क लगाएर मात्र आउने व्यवस्था गर्ने कार्यविधिमा लेखिएको छ । गौतमले स्थानीय तहले विद्यालय खोलिहाल्ने भन्ने होइन तर तयार रहनुपर्ने बताए ।

विद्यालय प्रवेश गर्नुअघि स्थानीय स्वास्थ्य संस्थासँगको समन्वयमा हेल्थ डेस्कको व्यवस्था गरी बालबालिका, शिक्षक, कर्मचारीको अनिवार्य रुपमा ज्वरो परीक्षण गर्ने र उचित तरिकाले अनिवार्य मास्क लगाउने, अति विपन्न समुदायका बालबालिकालाई विद्यालयले मास्कको व्यवस्था गर्ने, संक्रमणको समयमा गर्नुपर्ने र गर्न नहुने क्रियाकलापको सूची तयार गरी सबैले देख्ने ठाउँमा राख्ने र टाँस्ने व्यवस्था गर्नुपर्ने लगायतका विषय कार्यविधिमा उल्लेख छ ।

स्थानीय तहले विद्यालय पुनः सञ्चालन कार्यविधिको आधारमा स्थानीय परिवेशको मूल्यांकन गरी विद्यालय पुनः सञ्चालन गर्ने, संक्रमण व्यवस्थापन तथा बालबालिकाको सिकाइ निरन्तरताका लागि प्रतिकार्य योजना तयार गरी सोको कार्यान्वयन गर्नुपर्नेछ ।

शिक्षक, विद्यार्थी तथा अभिभावकले अनिवार्य मास्क लगाउने र खाजा व्यवस्थापन गर्नेलगायत विषयवस्तु समावेश गरी विद्यालय जाँदा, विद्यालयमा रहँदा वा घर फर्कंदा एवं घरमा पुगेपछि पालना गर्नुपर्ने नियम तयार गर्ने, भविष्यमा समेत कोरोना संक्रमण, महामारी वा अन्य कुनै कारणवश हुन सक्ने विद्यालय बन्दका सम्बन्धमा सबैलाई मानसिकरुपमा तयार रहने गरी सचेतीकरण गर्ने विषय कार्यविधिमा समेटिएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले यसबारे ड्राफ्ट तय भएको र छलफल हुन बाँकी रहेको खुल्लापाटीलाई जानकारी दिए ।