नेक्ससमा हेल्थ क्याम्प, सबैले निःशुल्क जँचाउन पाउने

काठमाडौँ – पेप्सीकोला टाउन प्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले नव वर्ष र विद्यार्थीहरुको वार्षिक परीक्षापछिको समयलाई सदुपयोग गर्न विद्यालयमा हेल्थ क्याम्प आयोजना गरेको छ। हेल्थ क्याम्पमा विभिन्न रोगहरुको निःशुल्क परीक्षण गराउन पाइनेछ । विद्यार्थी अभिभावक र स्थानीयबासीलाई लक्षित गरी हेल्थ क्याम्प आयोजना गरिएको नेक्सस इन्टरनेशनल एकेडेमीका संस्थापक प्राचार्य आरबी कटवालले जानकारी दिए । उनले खुल्लापाटीसँग भने –‘ विद्यालयको सामाजिक उत्तरदायित्व अन्तर्गत हेल्थ क्याम्प आयोजना गरिएको हो । यसमा सबैले स्वतन्त्ररुपमा सहभागी हुन पाउनुहुनेछ । परीक्षण निःशुल्क हुनेछ ।’

‘अहिले मौसममा देखिएको परिवर्तनसँगै विभिन्न रोगहरु लाग्ने सम्भावना पनि छ । अर्को तर्फ उपचार गर्नुभन्दा लाग्नु नदिनु वेश भन्ने आधारले पनि हामीले विशेषज्ञ डाक्टरहरु बोलाएर परीक्षण गराउने निधो गरेका हौँ ।’ उनले थप स्पष्ट पारे । हेल्थ क्याम्पमा दाँत सम्बन्धी समस्याको पनि चेकजाँज हुने विद्यालयले जनाएको छ । यही वैशाख ४ गते आइतबार विहान १० बजेदेखि स्वास्थ्य चेकजाँच कार्यक्रम राखिएको विद्यालयले जनाएको छ ।

अभिभावक अभिमुखीकरण पनि हुँदै

नेक्ससले अभिभावकहरुलाई पनि अभिमुखीकरण गर्ने भएको छ । नव आगन्तुक तथा पुराना अभिभावकहरुलाई विद्यालयका नियम कार्यशैलीबारे जानकारी गराउने तथा विद्यालयका योजना पनि सार्वजनिक गर्ने उद्देश्यले अभिभावक अभिमुखीकरण गरिएको विद्यालयले जनाएको छ ।

यही वैशाख ३ गते शनिबार विहान ७ बजेदेखि खहरेस्थित शान बैक्वेटमा अभिमुखीकरण कार्यक्रम राखिएको विद्यालयले जनाएको छ । कोरोनाका कारण जमघट हुन नपाइने भएपछि पछिल्ला दुई वर्ष अभिमुखीकरण हुन नपाएकाले यसपटक राखिएको प्राचार्य कटुवालले जानकारी दिए ।

विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा ३ र १० गते


विद्यालयले भर्ना हुन चाहने विद्यार्थीका लागि प्रवेश परीक्षा खुला गरेको छ । प्रवेश परीक्षा यही वैशाख ३ गते र १० गते हुने विद्यालयले जनाएको छ । नेक्ससमा भर्ना हुन चाहने विद्यार्थीले प्रवेश परीक्षा अनिवार्य उत्तीर्ण हुनुपर्ने नियम रहेको विद्यालयले जनाएको छ । ‘केही सीमित कोटामा मात्र भर्ना खुला गरिएको छ । सिट सीमित भएकाले समयमैँ प्रवेश परीक्षामा सहभागी गराउनुहुन आग्रह गर्दछु । ’ प्राचार्य कटुवालले आग्रह गरेका छन ।