मुम्बई इन्डियन्स आइपीएलको शीर्ष स्थानमा

काठमाडौँ– मुम्बई इन्डियन्स आइपीएलको शीर्ष स्थानमा उक्लिएको छ । यूएईमा जारी प्रतियोगिता अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको हो ।

जितका लागि १९४ रनको बलियो लक्ष्य पछ्याएको राजस्थान १८ दशमलव १ ओभरमा १३६ रनमा अल आउट भयो । राजस्थानका लागि ओपनर जस बटलरले सर्वाधिक ७० रनको योगदान दिए पनि टोलीलाई जिताउन सकेनन ।

पहिलो ओभरको दोस्रो बलमै ओपनर यशस्वी जैसवाललाई ट्रेन्ट बोल्टले विकेटकिपर क्विन्टन डी ककबाट शून्यमा पेभिलिएन फर्काए । जस्प्रित बुमराहको दोस्रो ओभरको चौथो बलमा कप्तान स्टिभ स्मिथलाई ६ रनमा आउट गरे ।

बोल्टको तेस्रो ओभरको पाँचौ बलमा सन्जु स्यामसन रोहत शर्माबाट शून्यमा क्याच आउट भए । पाँचौ विकेटका लागि दुई इंग्लिस ब्याट्सम्यान बटलर र टम करनले ५६ रनको साझेदारी गर्दै झिनो आशा जगाए पनि जित सम्भव भएन ।

१५औं ओभरको चौथो बलमा करनलाई आउट गराए । त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९३ रन बनाएको थियो ।

मुम्बईलाई बलियो योगफलमा पुर्‍याउन सूर्यकुमार यादवले उत्कृष्ट ब्याटिङ गरेका थिए । सूर्यकुमार ४७ बलमा ११ चौका र २ छक्कासहित ७९ रनमा अविजित रहे । हार्दिक पान्ड्या १९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३० रनमा अविजित रहे ।

मुम्बईलाई ओपनर रोहित शर्मा र क्विन्टन डी ककले ४।५ ओभरमा ४९ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थियो । जितसँगै मुम्बई ६ खेलमा ४ मा जित र २ मा हारसहित शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतियोगिता अन्तर्गत आज कोलकाता नाइट राइर्डस र चेन्नई सुपर किंग्स भिड्दैछन् ।