काठमाडौँमा ६३७ सहित ११७२ जनामा संक्रमण, थप ७ जनाको मृत्यु

काठमाडौँ -नेपालमा आज थप १ हजार १७२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार १७२ जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ६७ हजार ८०४ पुगेको छ । नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ । पछिल्लो २४ घन्टामा १८९३ जना डिस्चार्ज भएका छन् ।

काठमाडौँमा थपिए ६३७ जना

यसैबीच, काठमाडौं उपत्यकामा ६३७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा डा. जागेश्वर गौतमले काठमाडौंमा ४९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० जना नयाँ संक्रमित थपिएका जानकारी दिए ।

थप ७ जनाको मृत्यु

नेपालमा आज थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ८६ वर्षीय एक पुरुष, सिराहाका ५० वर्षीय एक पुरुष, काठमाडौँकी ६८ पर्षीय एक महिला र १६ वर्षीय एक पुरुष, ललितपुरका ७४ वर्षीय एक पुरुष, बर्दियाका ६४ र ३९ वर्षीय दुई पुरुषको निधन भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ४३६ पुगेको छ ।