काठमाडौँ – अखिल नेपाल फुटबल संघ एन्फाले मंसिर दोस्रो सातादेखि अन्तरविद्यालय लिग फुटबल प्रतियोगिता गर्नेगरी तयारी थालेको छ ।
युवा फुटबल खेलाडीको विकास र विस्तार गर्न अन्तर विद्यालय लिग फुटबल गर्ने उद्देश्यले उपत्यकाका तीन जिल्ला काठमाडौ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकलाई पनि समावेश गर्ने जनाएको छ । युवा खेलाडीहरुलाई अवसर प्रदान गर्दै निकट भविष्यमा उमेर समूहको राष्ट्रिय टिमसम्म प्रशिक्षणमा सहभागी गराउने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्ने कार्यक्रम रहेको एन्फाको भनाइ छ ।
विद्यालय लिगमा यसवर्ष देखि १५ वर्ष मुनीका उमेर समूहका विद्यार्थीहरुले सहभागिता जनाउनसक्ने छन् ।
एन्फाले विद्यालय लिगमा सहभागि हुनका लागि यस सूचना प्रकाशित भएको १५ दिनभित्र एन्फा सचिवालयमा काठमाडौं उपत्यका र काभ्रेका इच्छुक विद्यालयले आवेदन दिन आग्रह गरेको छ ।
प्रतीयोगितामा सहभागी हुन विद्यालयको मैदानमा होम म्याचका खेलहरु सञ्चालन गर्ने सम्भाव्यता हुनुपर्ने लगायतका विभिन्न मापदण्ड पनि तोकिएको छ ।