तनहुँ पहिरो अपडेट : बेपत्ता दश जनाको शव फेला

तनहुँ – तनहुँका विभिन्न ठाउँमा पहिराले पुरिएर बेपत्ता भएका दश जनाको शव भेटिएको छ । आइतबार रातिदेखि परेको भीषण वर्षाले घर पुरिँदा बेपत्ता भएका ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाका १२ जनामध्ये दश जनाको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बेपत्ता रहेका दुई जना भने अझै फेला पर्न नसकेको प्रहरीले जनाएको छ । रात परेकाले बेपत्ता भएकाहरुको खोजी कार्यलाई आजलाई स्थगित गरिएको र मङ्गलबारबाट पुनः खोजी कार्य तीव्र पारिने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

पहिराले पुरिएर बेपत्ता भएका ऋषिङ–८ पल्ट्याङ भैसीकिलेका एकै परिवारका पाँच, व्यास–९ माझफाँटमा एकै परिवारका तीनसहित चार र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।