९ वर्ष मुनिका बालबालिकामा कोरोना संक्रमण बढ्दै

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) को संक्रमण ९ वर्ष मुनिका बालबालिकामा बढ्दै गएको छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म १७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको देखिएको हो ।

एक साताअघि प्रदेशभरिमा ६१ बालबालिकामा कोरोना सङ्क्रमण देखिए पनि सो सङ्ख्या बढ्दै गएको निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए । उनका अनुसार सङ्क्रमण देखिएका सबै बालबालिका बुवाआमासित भारतबाट फर्किएकाहरु हुन् ।

कोरोना सङ्क्रमणबाट बाजुरामा केही समयअघि दुई वर्षीया बालिकाको समेत मृत्यु भइसकेको छ । त्यसैगरी कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पतालबाट ११ महिने बालक कोरोना जितेर फर्किसकेका छन् ।

मङ्गलबार साँझसम्म सुदूरपश्चिमका नौवटै जिल्लामा गरी दुई हजार ४८३ जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । तीमध्ये ५७३ महिला सङ्क्रमित छन् ।

कोरोनाबाट यहाँ हालसम्म पाँचको मृत्यु भइसकेको छ भने ४७९ सङ्क्रमित निको भइसकेका छन् । यहाँ सबैभन्दा बढी कैलालीका ५९७ र सबैभन्दा कम दार्चुलामा ४३ जनामा सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।