शुल्क नतिरेको भन्दै प्रिन्सिपलले अभिभावक कुटे

काठमाडौँ – विद्यालयको शिक्षण शुल्क बापतको बक्यौता रकम नतिरेको भन्दै पूर्वी नवलपरासीका प्रिन्सिपलले  अभिभावकमाथि हातपात गरेका छन । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–६ रानीनगरस्थित उज्जवल शिशु इंग्लिस सेकेन्डरी स्कुलका प्रिन्सिपल दीपक कुँवरले आफ्नै विद्यार्थीका अभिभावकलाई कुटपिट गरी खुट्टाको गेडी खुस्काइदिएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी मोहनबहादुर खाँडले खुल्लापाटीलाई जानकारी दिए ।

उनका अनुसार प्रिन्सिपलले एक अभिभावकको दाहिने खुट्टाको गेडी खुस्काइदिएको अभियोगसहित कुटपिट र अंगभंगमा प्रिन्सिपलविरुद्ध जाहेरी परेको छ । प्रिन्सिपल फरार छन । खोजी कार्य जारी छ । ’

प्रिन्सिपलको कु्टपिटबाट पश्चिम नवलपरासी सुस्ता गाउँपालिका–३ का कृष्णप्रसाद आचार्य घाइते भएका हुन् । उनको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ ।

कुँवरको विद्यालयमा आचार्यका दुई छोराहरु अध्ययन गरेको पाइएको छ। आचार्यका छोराले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेपछि तीस हजारजति बुझाउन बाँकी थियो । साउन २८ गते बक्यौता शुल्क माग गरेपछि आचार्यले कारोना भाइरसको कारण लकडाउन भएको र आफूसँग तत्काल रकम नभएको भनेपछि विवाद भएको थियो ।

आचार्यले रकम तत्काल तिर्न नसकिने भनेपछि कुँवरले गाली गलौज गर्दै कुटपिट गरेका थिए । कुटपिटपछि जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) मा घाईते आचार्यका छोरा राम आचार्यले भदौ ९ गते जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी खाँडले जानकारी दिए ।