सलह काठमाडौँसहित २५ जिल्लामा पुग्यो

काठमाडौँ – गत शनिबार भारतबाट नेपाल प्रवेश गरेको सलह किरा काठमाडौं उपत्यकासहित मुलुकका २५ भन्दा बढी जिल्लामा पुगेको छ । काठमाडौं प्रवेश गरेको सलह किरा उपत्यकाका तीन वटै जिल्लामा पुगेको सलहको विश्लेषण गरिरहेको प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाईँले जानकारी दिए ।

बाराबाट नेपाल प्रवेश गरेको सलह मकवानपुर हुँदै काठमाण्डौ आइपुगेको हुमागाईँले बताए । उनका अनुसार नेपाल पसेको सलहको समूह विभिन्न साना समूहमा छुट्टिएर २५ भन्दा धेरै जिल्लामा पुगिसकेको छ ।

सलह किराले प्युठान, दोलखा, स्याङ्जालगायतका जिल्लामा मकै तथा तरकारीलगायतका बालीमा क्षति पुर्‍याएको किसानहरुले बताएका छन् ।

प्युठानमा बाजा बजाएर लखेटियो

यसैबीच प्युठानको झिम्रुक गाउँपालिकामा स्थानीयले झ्याली बाजा बजाएर सलह किरा लखेटेका छन् ।

अर्को गाउँबाट सलह आउँदै गरेको थाहा पाएपछि झिमरुक गाउँपालिका २ मुलपानीमा गाउँलेहरु भेला भएर बाजा तथा आवाज आउने वस्तु बजाएर तथा आगो बालेर सलहलाई बस्न नदिइकन भगाएको स्थानीयले बताएका छन् ।